सरकारी वकिलको कार्यालयबाट ललिता निवास जग्गा हिनामिनासम्बन्धीको अनुसन्धान प्रतिवेदन सीआईबीमै फिर्ता, हदम्यादले मुद्दा नरोकिने

सरकारी वकिलको कार्यालयबाट ललिता निवास जग्गा हिनामिनासम्बन्धीको अनुसन्धान प्रतिवेदन सीआईबीमै फिर्ता, हदम्यादले मुद्दा नरोकिने


काठमाडौं २६ पुस । बालुवाटारको ललिता निवास जग्गा हिनामिनासम्बन्धी अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालय काठमाण्डौले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मै फर्काएको छ । जग्गा हिनामिनामा सरकारी वकिलको कार्यालयले थप अनुसन्धान गर्नुपर्ने भन्दै प्रतिवेदन आज सोमवार सीआईबीमै फर्काएको हो ।
अनुसन्धानमा केही कुरा अपुग देखिएको र केही विषयमा थप अनुसन्धान गर्नुपर्ने भएकाले फिर्ता गरेको जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डौका प्रमुख गंगाप्रसाद पौडेलले बताउनुभएको छ । थप के–कस्ता विषयमा अनुसन्धान गर्नुपर्ने हो भन्नेबारेमा खुलेको छैन ।
सीआईबीले सरकारी कागजात किर्ते गरेको भन्दै ललिता निवास जग्गा प्रकरणका मुख्य अभियुक्तमध्येका रामकुमार सुवेदी र उहाँकी पत्नी माधवीलाई यही पुस ७ गते पक्राउ गरेको थियो । सीआईबीले अनुसन्धानका सिलसिलामा अरू पनि दोषी देखिएको भन्दै तीन सय जनाभन्दा धेरैलाई मुद्दा चलाउन सरकारी वकिल कार्यालयलाई राय दिएको थियो ।
मुलुकी अपराधसंहिता २०७४ अनुसार किर्ते मुद्दामा थाहा पाएको दुई वर्षभित्र मुद्दा चलाइसक्नुपर्छ । यसअनुसार ललिता निवास जग्गा प्रकरणमा किर्तेसम्बन्धी मुद्दा दायर गर्ने हदम्याद आज नै सकिएको छ । तर दुई वर्षे म्यादले मुद्दा नरोकिने जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डौका प्रमुख पौडेलले बताउनुभएको छ ।