विश्वकप छनोट : नेपालले नेदरल्यान्ड्सलाई १६८ रनको चुनौती दियो

विश्वकप छनोट : नेपालले नेदरल्यान्ड्सलाई १६८ रनको चुनौती दियो


काठमाडौँ ।

आइसिसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्सलाई जितका लागि एक सय ६८ रनको चुनौती दिएको छ।

जिम्बावेको टाकासिँगा स्पोर्टस् क्लबमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४४ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै एक सय ६७ रनको योगफल बनाएको हो।

नेपालका लागि कप्तान रोहित पौडेलले ५५ बलमा तीन चौका र एक छक्काको सहयोगमा सर्वाधिक ३३ रनको योगदान दिए। त्यस्तै नेपालका ओपनर आसिफ शेख तेस्रो ओभरको दोस्रो बलमा शून्य रनमा आउट भए। आजको खेलमा नेपालका कुनै ब्याटरका बीचमा उत्कृष्ट साझेदारी हुन सकेन।

यसैगरी सन्दीप लामिछानेले ३३ बलमा चार चौकाको सहयोगमा २७ रन बनाए भने अर्का ओपनर कुशल भूर्तेलले ४२ बलमा दुई चौकाको सहयोगमा २७ रन जोडे । भीम सार्कीले ५६ बलमा एक चौकाको सहयोगमा २२ रन बनाए। दीपेन्द्रसिंह ऐरीले १४ र कुशल मल्लले १२ रन बनाए।

नेदरल्यान्ड्सका लागि लगन भान विकले चार विकेट लिए भने बास डि लिड र विक्रमजित सिंहले समान दुईरदुई विकेट लिए। त्यस्तै क्लेटन प्लोयट र आर्यान दत्तले समान एक–एक विकेट झारे।

नेपाल पहिलो खेलमा जिम्बावेसँग आठ विकेटले पराजित भएको थियो। दोस्रो खेलमा अमेरिकालाई छ विकेटले हराएको थियो। नेपालले तेस्रो खेलमा वेस्टइन्डिजसँग एक सय एक रनको फराकिलो हार व्येहोर्न पुगेको थियो।

नेदरल्यान्ड्स जिम्बावेसँग छ विकेटले पराजित भएको थियो। नेदरल्यान्ड्सले अमेरिकालाई पाँच विकेटले पराजित गरेको थियो। नेपाललाई हराउँदा नेदरल्यान्ड्स औपचारिकरुपमा सुपर सिक्समा पुग्नेछ।