होबार्ट अष्ट्रेलिया ।
तास्मानिया नेप्लिज क्रिकेट एसोसियसन (टिएनसीए) को अध्यक्षमा कमल भण्डारी निर्वाचित भएका छन्। आज (शनिबार) बहुसास्कृतिक भवन होबार्टमा भएको साधारण सभाले भण्डारीलाई टिएनसीएको अध्यक्षमा निर्वाचित गरेको हो। भण्डारी (२०२२–०२३)मा सचिव पदमा रहेर काम गरेका थिए।
आज निर्वाचित कार्यसमितिमा उपाध्यक्षमा वासीक मोहमत खान, सचिवमा डा पुष्पराज जोशी, कोषाध्यक्षमा सुमन पौडेल, प्रवक्तामा एलिजा पंगेनी, सदस्यमा मिलन पौडेल, विश्वास बर्देवा र सरोज अर्याल रहेका छन्। सर्वसम्मतिमा भएको निर्वाचन समितिको निर्वाचन आयुक्त डा केशव भट्टराई रहेका थिए भने सदस्यमा खगेन्द्र सत्याल रहेका थिए।
कार्यक्रममा टिएनसीएले तास्मानियामा क्रिकेटको विकासका लागि सहयोग गर्ने संघ संस्था तथा व्यक्तिलाई सम्मान गरेको थियो। निवर्तमान अध्यक्ष बाबु न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा तास्मानियामा रहेका नेपाली संघ संस्थाका पदाधिकारी, समाजसेवी, पत्रकारलगायतको उपस्थिति रहेको थियो।
साधारण सभामा निवर्तमान अध्यक्ष बाबु न्यौपाने वार्षिक कार्यपत्र प्रस्तुत गरेका थिए। उनले आफ्नो कार्यकालमा सहयोग गर्ने सम्पूर्ण क्रिकेट क्लब, खेलाडी, तास्मानियामा रहेका संघ संस्था प्रायोजक,सह–प्रायोजकलाई धन्यबाद दिएका थिए। उनले विगतका वर्षमा टिएनसीएले गरेका सुपर सिक्स टि–२०, जुनियर बलास्ट लगायता प्रतियोगितालाई नयाँ नेतृत्वले निरन्तरता दिनेमा आफू विश्वस्त रहेको बताए। टिएनसीएले तास्मानियामा रहेका सम्पूर्ण क्रिकेट प्रेमीलाई समेट्नु पर्ने उनको भनाइ थियो।
नवनिर्वाचित अध्यक्ष भण्डारीले थप जिम्मेवारी पाउँदा निकै नै खुसी भएको भन्दै टिएनसीएको विकासका लागि केही योजना रहेका बताए। उनले टिएनसीएसँग आबद्ध सात क्रिकेट क्लब र खेलाडीको वृद्धि विकासमा लागि पर्ने बताए।
विगतका समितिले बनाएका नीति नियमलाई निरन्तरता दिने उनको भनाइ छ। नवनिर्वाचित अध्यक्ष भण्डारीले सिनियर म्यानको क्रिकेट टिमको जलमल गर्ने भन्दै जुनियरहरुको क्रिकेट टिमलाई पनि अघि बढाउने योजना सुनाए। उनले महिला क्रिकेट टिमलाई तास्मानियाको कम्युनिटीमा परिचित गराउने र टिएनसीले पहिलेदेखि नै गर्दै आएका कार्यक्रमलाई अझै प्रभावकारी रूपमा अगाडी बढाउने बताए। उनले चाँडै नै विस्तृत कार्यक्रम सहितको क्यालेण्डर प्रकाशन गर्ने पनि जानकारी दिए।
टिएनसीए २०१९ मा तास्मानियामा रहेका नेपालीहरूले स्थापना गरेको संस्था हो। यसले तास्मानियामा रहेका नेपाली क्रिकेट क्लब र क्रिकेट खेलाडीको वृद्धि विकासको लागि विभिन्न कार्य गर्दै आएको छ।
प्रतिक्रिया