उपत्यकाका तीनै सीडीओको बैठक भोलि बस्दै, स्मार्ट लकडाउनबारे निर्णय हुने

उपत्यकाका तीनै सीडीओको बैठक भोलि बस्दै, स्मार्ट लकडाउनबारे निर्णय हुने


काठमाडौं, २५ पुस । कोरोना संक्रमण वृद्धि भएसँगै स्मार्ट लकडाउनबारे छलफल गर्न काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुको बैठक भोलि बस्ने भएको छ । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)को आज बसेको बैठकले स्मार्ट लकडाउनसम्बन्धी कार्यविधि ब्युँताउँदै यसलाई कार्यान्वयनमा लैजान गृह मन्त्रालयमा सिफारिस गरेको हो ।
सीसीएमसीले गरेको सिफारिसको आधारमा काठमाडौं उपत्यकाका तीनै सीडीओले जोखिम पहिचान गर्दै आवश्यक पर्ने क्षेत्रहरु बन्द गर्ने निर्णय गर्ने तयारी गरेका छन् । भक्तपुरकी प्रम्ख जिल्ला अधिकारी रुद्रादेवी शर्माले भोलि बस्ने तीनै सीडीओको संयुक्त बैठकले स्मार्ट लकडाउनबारे निर्णय गर्ने बताइन् । ‘कतिपय निर्णय सीधै सीसीएमसीले गरेको छ । अब हामीले जोखिम पहिचानको आधारमा गर्नुपर्ने निर्णय गर्छौ’ उनले भनिन् ।
आज उपत्यकाका तीनै डीसीसीएमसीको बैठक बसेको थियो । आजको बैठकमा परीक्षणको दायरा बढाउने, खोपलाई तीव्रता दिने, अस्पतालमा स्वास्थ्य पूर्वाधारको व्यवस्थापन गर्ने र भीडभाड हुने क्षेत्र बन्द गर्ने निर्णय भएको थियो । कुन–कुन क्षेत्रलाई व्यवस्थित वा बन्द गर्ने भन्नेबारे निर्णय गर्न तीनै सीडीओ जुट्न लागेका हुन् । काठमाडौंका सीडीओ गोविन्दप्रसाद रिजालले पनि आफूहरुको बैठकले स्मार्ट लकडाउनबारे थप निर्णयहरु गर्ने बताए ।
सीसीएमसीले आइतबार पुरानै स्मार्ट लकडाउनको कार्यविधि ब्युँताइएपछि त्यसलाई कार्यान्वयन गर्न सीडीओहरुलाई बाटो खुलेको छ ।