सिड्नी, अष्ट्रेलिया ।
गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको आगामी जुलाई २९ तारिखका लागि तय गरिएको निर्वाचनपूर्व यतिबेला सदस्यता नवीकरण गर्ने र नयाँ सदस्यता लिने क्रम चलिरहेको छ । सदस्यता लिन र नवीकरण गर्न आगामी जुन २६ तारिखसम्म समयसीमा तोकिएको छ । एनआरएन पदाधिकारीबाट प्राप्त जानकारी अनुसार हालसम्म ६ हजारभन्दा बढी अष्ट्रेलियामा बसोबास गर्ने नेपालीहरुले एनआरएनको सदस्यता नवीकरण या नयाँ दर्ता गराइसकेका छन् । अघिल्लो पटक १६ हजारभन्दा बढी सदस्यता रहेको यो संस्थामा यस पटक भने सदस्यता कति पुग्ने हो चासोको विषय छ ।
हालै आईसीसी तहमा दुई समूहबीच अबको अधिवेशनलाई एकताको अधिवेशन बनाउने निर्णय भएका कारण यसको असर एनआरएन अष्ट्रेलियामा पनि पर्ने र सदस्यता १६ हजारभन्दा बढी पुग्ने अनुमान गरिएपनि सदस्य बन्ने क्रमले भने त्यस्तो संकेत गरेको छैन । हालकै स्थितिमा अघि बढे ११ हजारको हाराहारीमा मात्रै सदस्यता संख्या पुग्ने अनुमान छ ।
यसैबीच, गैरआवासीय नेपाली संघ अष्ट्रेलियाका अध्यक्ष नन्द गुरुंगले सदस्य बन्नका लागि आह्वान गरेका छन् । उनले यस पटक आईसीसीको एमआईएस सिष्टममा जाने भएका कारण पनि झन्झट नमानी स्मार्ट एनआरएन एप डाउनलोड गरी त्यसमा आफ्नो विवरण दिन अनुरोध गरेका हुन् ।
एनआरएन अष्ट्रेलियाका युथ कोअर्डिनेटर बबिन मिश्रले नेपाली युवा विद्यार्थीहरुलाई समस्यामा पर्दा सबैभन्दा अघि सरेर सहयोग गर्ने यो संस्थालाई सबैले आफ्नो बनाउनुपर्ने बताए । उनले संस्था आफैंमा राम्रो या नराम्रो नहुने तर त्यसका क्रियाकलापलाई हेरेर सबैले मूल्यांकन गर्नुपर्ने भन्दै सदस्यता लिन आह्वान गरेका छन् ।
यसैबीच, विभिन्न व्यक्तिहरुले एनआरएन अष्ट्रेलियाका विभिन्न पदमा आफ्नो उम्मेद्वारी घोषणा गर्ने क्रम पनि बढेको छ ।
प्रतिक्रिया