अमेरिकाविरुद्धको खेलमा करण एक्लैले लिए चार विकेट

अमेरिकाविरुद्धको खेलमा करण एक्लैले लिए चार विकेट


काठमाडौँ ।

आइसिसी एकदिवसीय विश्वकप छनोट, २०२३ अन्तर्गत अमेरिकाविरुद्धको खेलमा नेपाललाई सुरुआती राम्रो सफलता प्राप्त भएको छ। जिम्बावेको राजधानी हरारेस्थित ताकासिंगा क्रिकेट क्लबमा नेपालले टस जितेर बलिङ रोजेपछि अमेरिकाले पहिले ब्याटिङ गरिरहेको छ।

करन केसीले चार विकेट लिएका छन्।

करणको बलमा अमेरिकाका ओपनर स्टेभिन टेलर ४ रन, मुकामाला शून्य, कप्तान आरोन जोन्स २ रन र केन्जिगे १ रनमा आउट भएका छन्। त्यतिबेला अमेरिकाले ९.२ ‍ओभर ४ विकेट गुमाउँदा १८ रन बनाएर खेलिरहेको छ।

जारी प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपाल जिम्बावेसँग आठ विकेटले पराजित भएको थियो । पहिलो खेलमा अमेरिका वेस्टइन्डिजसँग ३९ रनले पराजित भएको थियो। नेपाल र अमेरिकाबीच हालसम्म भएका छ एकदिवसीय खेलमा नेपालले तीन र अमेरिका दुई खेलमा विजयी भएका थिए भने एउटा खेल बराबरी भएको थियो।

एकदिवसीय विश्वकप छनोटमा नेपालसहित विश्वका १० राष्ट्रको सहभागिता छ। समूह ‘ए’मा नेपालसहित जिम्बावे, वेस्टइन्डिज, नेदरल्यान्ड्स र अमेरिका छन् भने समूह ‘बी’ मा श्रीलङ्का, आयरल्यान्ड, ओमान, संयुक्त अरब इमिरेट्स (युएई) र स्कटल्यान्ड छन्।

सहभागी दुई समूहको लिग खेलपछि सुपर सिक्स हुनेछ । सुपर सिक्समा दुवै समूहका शीर्ष तीन–तीन टोलीले स्थान बनाउनेछन्। सुपर सिक्सबाट शीर्ष दुई स्थानभित्र रहने टोलीले फाइनल खेल्दै आगामी अक्टोबर–नोभेम्बरमा भारतमा आयोजना हुने आइसिसी एकदिवसी विश्वकप क्रिकेट खेल्न पाउनेछन्।

नेपालको प्लेइङ ११ मा कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, करण केसी, सन्दीप लामिछाने, भीम सार्की र ललित राजवंशी छन्।