मेलबर्न अष्ट्रेलिया ।
नेप्लिज एसोसिएसन अफ भिक्टोरिया (न्याभले) आयोजना गरेको ‘तेस्रो मल्टिकल्चरल सकर टुर्नामेन्टको उपाधि रोयल वेस्टर्न क्लवले उचालेको छ। शनिबार ब्रोडमिडोज स्टार्स स्पोर्ट्स क्लबमा भएको फाइनल खेलमा रोयल वेस्टर्नले दि हिमालय टाइगर्स एफसी फुटबल क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै उपाधि कब्जा गरेको हो।
टुर्नामेन्टको उपाधि जितेको रोयल वेस्टर्न क्लवले ट्रर्फि, मेडल र प्रमाणपत्र पाएको छ। उक्त फुटबल प्रतियोगितामा १२ टिम सहभागिता जनाएका थिए।
प्रतियोगिताको उत्कृष्ट गोलकिपर रोयल वेस्टर्नका रोहित कार्की घोषित भए। रोयल वेस्टर्नका रवि थिङ, दि हिमालय टाइगर्स एफसीका सिर्जन भण्डारी र सुदन फुटबल क्लबका अब्दुल्लाह हमादले समान चार–चार गोल गरेका थिए। टुर्नामेन्टकै उत्कृष्ट खेलाडी रोयल वेस्टर्न क्लबका अमिर श्रेष्ठ छानिएका थिए। प्रतियोगितामा थन्डर ड्र्यागन एफसी सबैभन्दा अनुशासित फुटबल टिम घोषित भएको थियो।
पुरस्कार वितरण कार्यक्रमलाई न्याभका सचिव माधव खरेलले गरेका थिए। उक्त कार्यक्रममा न्याभका अध्यक्ष प्रेमराज उप्रेती, पश्चिम महानगरपालिका तथा बहुसांस्कृतिक मामिलाका छाया संसदीय सचिव ट्रुङ लुउ, भिक्टोरियन बहुसांस्कृतिक आयोगका उपाध्यक्ष बिवे थे, भिपि आर डब्लुसीका रोशन दाहाल र निर्मला शर्मा, अस्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी)का अध्यक्ष गान्धी भट्टराई, ब्राइटन कलेजका एमडी अमरराज आचार्य, आरटिओ बसन्त पोखरेल, एक्सपर्ट एजुकेशन एन्ड भिसा सर्भिसेजका मणि रतन सापकोटाको उपस्थिति रहेको थियो।
दीप चन्दले संयोजन गरेको तेस्रो न्याभ मल्टिकल्चरल सकर टुर्नामेन्टलाई ससेन्द्र केसी, दीपेन्द्र खड्का र बिरोध थेङले सहजीकरण गरेका थिए।
कार्यक्रमको अन्तमा न्याभले यो टुर्नामेन्टलाई सफलता पूर्वक सम्पन्न गर्न सहयोगी भूमिकामा रहेका प्रायोजक, सह–प्रयोजक खेलाडी, दर्शक र अन्य सहयोगलाई धन्यबाद दिएको थियो।
तस्बिरः न्याभको फेसबुक पेजबाट
प्रतिक्रिया