काठमाडौँ ।
आइसिसी एकदिवसीय विश्वकप क्रिकेट छनोट–२०२३ अन्तर्गत आज भएको पहिलो खेलमा नेपाल टेष्ट मान्यता प्राप्त राष्ट्र जिम्बावेसँग पराजित भएको छ। जिम्बावेको हरारे स्पोर्टस क्लबमा भएको खेलमा नेपाल जिम्बावेसँग आठ विकेटले पराजित भएको हो।
नेपालले दिएको दुई सय ९१ रनको लक्ष्यलाई जिम्बावेले ४४ दशमलव १ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो। जिम्बावेको जितमा क्रेग इर्विनले सर्वाधिक १२१ रनको योगदान दिए। उनले १ सय २८ बलमा १५ चौका र १ छक्कासहित १ सय २१ रनमा अविजित रहेका हुन् ।
त्यस्तै, सेन विलियम्स ७० बलमा १३ चौका र १ छक्कासहित १०२ रनमा अविजित रहे। यसैगरी, जोयलोर्ड गुम्बीले २५ रन बनाए भने वेस्ली माधिवेरीले ३२ रन बनाए।
बलितर्फ नेपालका गुलशन झा र सोमपाल कामीले एक एक विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै २९० रनको योगफल बनाएको थियो।
नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ९९ रनको योगदानन दिए। उनी शतक पूरा गर्नबाट १ रनले चुके। जिम्बावेका वेलिङटन मसाकाट्जाले कुशललाई ९९ रनमा आउट गराए। ९५ बल खेलेका उनले १३ चौका र २ छक्काको मद्दतमा ९९ रनको योगदान गरेका हुन्।
त्यस्तै, पहिलो विकेटका लागि कुशलले आसिफ शेखसँग १७१ रनको उत्कृष्ट साझेदारी गरे। कुशल र आशिफले ३१ दशमलव ५ ओभरमा १७१ रनको उत्कृष्ट शतकीय साझेदारी गरेका हुन् । एकदिवसीय नेपालको खेलमा यो हालसम्मकै उच्च अङ्कको साझेदारी हो। यसअघि गत फेब्रुअरीमा भएको नामिबियाविरुद्धको खेलमा ज्ञानेन्द्र मल्ल र आसिफ शेखले दोस्रो विकेटका लागि १३९ रनको साझेदारी गरेका थिए।
आसिफले ६६ रन बनाए। उनले एक सय बल खेल्दै सात चौकाको मद्दतमा ६६ रन जोडेका हुन्। यसैगरी, कुशल मल्लले ४१ रन जोडे। ४२ बल खेलका उनले तीन छक्का र दुई चौकाको मद्दतमा ४१ रन बनाएका हुन्। आरिफ शेखले १० रन बनाउँदा गुल्सन झाले १३ तथा दीपेन्द्र सिंह ऐरीले ६ रन जोडे। त्यस्तै, करण केसी २ रनमा अविजित रहे।
बलिङतर्फ जिम्बावेका रिचार्ड नगर्भाले चार विकेट लिए भने विलिङ्टन मासाकाट्जाले दुई विकेट झारे। त्यस्तै, ब्लेसिङ् मुजवानी र टेन्डाई चताराले समान एकरएक विकेट लिए। नेपालले अब आफनो दोस्रो खेल यही असार ५ गते अमेरिकासँग खेल्नेछ।
एकदिवसीय विश्वकप छनोटमा नेपालसहित विश्वका १० राष्ट्रको सहभागिता रहेको छ। सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। जसमा नेपाल समूह ‘ए’ मा परेको छ। नेपालको समूहमा जिम्बावे, वेस्टइन्डिज, नेदरल्यान्ड्स र अमेरिका छन्। त्यस्तै, समूह ‘बी’ मा श्रीलङ्का, आयरल्यान्ड, ओमान, संयुक्त अरब इमिरेट्स (युएई) र स्कटल्यान्ड छन्।
सहभागी दुई समूहको लिग खेलपछि सुपर सिक्स हुनेछ। सुपर सिक्समा दुवै समूहका शीर्ष तीन–तीन टोलीले स्थान बनाउनेछन्। सुपर सिक्सबाट शीर्ष दुई स्थानभित्र रहने टोलीले फाइनल खेल्दै आगामी अक्टोबर–नोभेम्बरमा भारतमा आयोजना हुने आइसिसी एकदिवसीय विश्वकप क्रिकेट खेल्न पाउनेछन्।
प्रतिक्रिया