‘सात प्रदेश-सात विद्यालय’ शिक्षामा सहयोग जुटाउन एनआरएनको च्यारिटी नाईट शनिबार हुँदै

‘सात प्रदेश-सात विद्यालय’ शिक्षामा सहयोग जुटाउन एनआरएनको च्यारिटी नाईट शनिबार हुँदै

ज्ञानेन्द्र शाहीलाई वक्ता बनाएपछि सुरु भयो बादविवाद


सिड्नी, अष्ट्रेलिया ।

गैरआवासीय नेपाली संघ अष्ट्रेलियाले सबैका लागि शिक्षा भन्ने नारासहित आगामी शनिबार १७ जुनका दिन सिड्नीमा च्यारिटी डिनर आयोजना गर्ने भएको छ । यस च्यारिटी डिनरका लागि नायिका करिश्मा मानन्धर र सांसद ज्ञानेन्द्र शाही, गायिका त्रिशाला गुरुंग र एनआरएन आईसीसी अध्यक्ष रविना थापा सिड्नी आइपुग्दैछन् । यस्तै डिनर कार्यक्रममा नेपाल आईडलका प्रतिस्पर्धीहरु आदेश पौडेल र सन्ध्या जोशीले समेत आफ्नो प्रस्तुति दिने भएका छन् । यी दुई कलाकार भने अष्ट्रेलियामै छन् । स्थानीय ईन्द्रेणी फंक्सन सेन्टरमा हुन लागेको कार्यक्रम साँझ साढे पाँच बजे सुरु हुने आयोजकले जनाएको छ ।

एनआरएन अष्ट्रेलियाका अध्यक्ष नन्द गुरुंगले यो कार्यक्रमका लागि सदस्यहरुबाट संकलन गरिएको कुनै रकम प्रयोग नहुने र विभिन्न व्यवासयिक संघसंस्थाको सहकार्यका कारण आयोजनापछि नेपालको दुर्गम भेगमा एनआरएन अष्ट्रेलियाले सञ्चालन गरिरहेको शैक्षिक छात्रवृत्ति कार्यक्रमलाई आर्थिक सहयोग जुट्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा बोलाइएका अतिथिहरु मुख्यत नायिका करिश्मा मानन्धर र सांसद ज्ञानेन्द्र शाहीको विषयलाई लिएर सामाजिक सञ्जालमा भने आवाज उठ्न थालेको छ । एनआरएन नेपाल सरकारको मातहत दर्ता भएको प्रवासी नेपालीहरुको संस्था रहेका कारण संविधान विरोधी गतिविधि नहोस् भन्ने उनीहरुको खबरर्दारी देखिन्छ ।

आफ्नो अभिव्यक्तिलाई लिएर सदैव विवादमा पर्ने ज्ञानेन्द्र शाहीको यो पहिलो अष्ट्रेलिया भ्रमण हो । उनी राप्रपाका सचेतक हुन् भने राप्रपाले नेपालमा हिन्दू राज्य र राजसंस्था पुनस्र्थापनाको एजेन्डा बोकेको छ । यसैको कडा पैरवी गर्ने उनलाई धर्मनिरपेक्षता समर्थक र गणतन्त्रवादीहरुले फरक दृष्टिले हेर्ने गरेका छन् ।

च्यारिटी डिनर कार्यक्रममा सहभागी हुँदा उनले शैक्षिक उत्थान र त्यसमा प्रवासीले खेल्ने भूमिकाको बारेमा मात्रै धारणा राख्नुपर्ने केहीको मत छ ।

उता आयोजक पक्षले नेपालको दुर्गम भेगबाट प्रतिनिधित्व गर्ने सांसदलाई अतिथि बनाइएको भन्दै स्पष्टीकरण दिएका छन् ।