अष्ट्रेलियाको नेपाली फुटबल प्रतियोगिता मध्यकै सर्वाधिक पुरस्कार राशिको ‘तेस्रो गिरीश च्याम्पियनसिप २०२३’ जुलाईमा हुँदै

अष्ट्रेलियाको नेपाली फुटबल प्रतियोगिता मध्यकै सर्वाधिक पुरस्कार राशिको ‘तेस्रो गिरीश च्याम्पियनसिप २०२३’ जुलाईमा हुँदै


एडिलेड अष्ट्रेलिया ।

अष्ट्रेलियाको एडिलेडमा तेस्रो ग्रिस च्याम्पियनसिप २०२३ को आयोजना हुने भएको छ। गिरीश इभेन्ट एण्ड इन्टरटेनमेन्टले जुलाई २२ र २३ तारिखमा उक्त फुटबल प्रतियोगिता गर्ने भएको हो। पहिलो र दोस्रो गिरिश च्याम्पियनसिप भव्य रूपमा सम्पन्न पारेको आयोजकले यस वर्षको ‘तेस्रो गिरिश च्याम्पियनसिप २०२३’ को तयारी तीव्र रूपमा भइरहेको गिरीश इभेन्ट एण्ड इन्टरटेनमेन्टका निर्देशक गगन गिरीले जानकारी दिए। 

न्यूजपोट स्टेडियम हुने खेलमा प्रथम हुनेले ८ हजार अष्ट्रेलियन डलर नगद, ट्रर्फी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने उनले जानकारी दिए। उनका अनुसार दोस्रो हुनेले ४ हजार अष्ट्रेलियन डलर नगद, ट्रर्फी, मेडल र प्रमाणपत्र पाउने छ। प्रतियोगितामा तेस्रो स्थान हासिल गर्ने टिमलाई पनि १५ सय अष्ट्रेलियन डलर सान्त्वना पुरस्कारको व्यवस्था गरिएको निर्देशक गिरीले बताए। 

प्रतियोगितामा खेलाडीले व्यक्तिगत विधा (म्यान अफ द म्याच, उत्कृष्ट गोलकिपर, सर्वाधिक स्कोरर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर र टुर्नामेन्टकै उत्कृष्ट खेलाडी)लाई नगद, मेडल प्रमाणपत्र दिएर सम्मान गरिने उनले बताए। 

गिरीश इभेन्ट एण्ड इन्टरटेन्मेन्टले पहिलो र दोस्रो गिरिश च्याम्पियनसिप भव्यताका साथ सम्पन्न गरिसकेको छ। पहिलो गिरिश च्याम्पियनसिपको उपाधि सेन्ट जर्ज नेपाली क्लब (एसजीएनसी) जितेको थियो। 

यस्तै गत वर्ष भएको दोस्रो गिरिश च्याम्पियनसिप फुटबलको उपाधि पनि सेन्ट जर्ज नेपाली क्लब (एसजीएनसी)ले उचालेको थियो। फाइनल खेलमा गिरिश इभेन्ट सपोटिङ क्लबलाई हराउँदै एसजीएनसीले उपाधि हात पारेको थियो। 

पहिलो र दोस्रो गिरिश च्याम्पियनसिप फुटबल प्रतियोगिताको पुरस्कार राशि ६ हजार अष्ट्रेलियन डलर रहेको थियो। तेस्रो गिरिश च्याम्पियनसिप २०२३ को पुरस्कारको राशि २ हजार अष्ट्रेलियन डलर बढाएको निर्देशक गिरीले जानकारी दिए। अष्ट्रेलियामा नेपाली समुदायले आयोजना गर्ने फुटबल प्रतियोगिता मध्य सबैभन्दा बढी पुरस्कार राशिको ‘गिरिश च्याम्पियनसिप’ गर्न पाउँदा आफु निकै नै उत्साहित भएको उनले बताए।

यस प्रतियोगितालाई भव्यताका साथ सफल पार्न एडिलेडमा रहेका नेपाली व्यवसायीले सक्दो सहयोग गर्ने बाचा दिएको निर्देशक गिरीले बताए।