तेस्रो न्याभ मल्टिकल्चरल सकर फुटबल प्रतियोगिता हुँदै, १२ टिम सहभागी हुने

तेस्रो न्याभ मल्टिकल्चरल सकर फुटबल प्रतियोगिता हुँदै, १२ टिम सहभागी हुने


मेलबर्न अष्ट्रेलिया ।

नेप्लिज एसोसिएसन अफ भिक्टोरिया (न्याभले) ‘तेस्रो मल्टिकल्चरल सकर फुटबल प्रतियोगिता’ गर्ने भएको छ। जुन १७ तारिख (शनिबार) ब्रोडमिडोज स्टार्स स्पोर्ट्स क्लबमा उक्त प्रतियोगिता हुन लागेको हो। 

आइतबार काठमाडौँ ब्यांकेटमा आयोजना गरिएको पत्रकार सम्मेलनमा ‘न्याभको तेस्रो मल्टिकल्चरल सकर फुटबल’ प्रतियोगितामा १२ टिमले सहभागिता जनाउने जानकारी गराइएको छ। जसमा ६ नेपाली फुटबल क्लब र ६ बाह्य व्यवसायीक क्लब रहेको न्याभका खेल संयोजक दिप चंन्दले जानकारी दिए। 

उनका अनुसार उक्त टुर्नामेन्टमा रोयल वेस्टर्न क्लव, ब्रोडमिडोज स्टार्स, ब्रोडमिडोज स्टार्स (ग्रिक), फुट्सक्रे रेन्जर्स, कालीका एफ सी, युनाइटेड नेसन, इस्टर्न वेरीयर्स, हिमालयन एफ सी, क्रेगीबन सिटी एफ सी, माउण्ट अन्नपुर्ण एफसी, क्रेगीबन ब्रिगेडले सहभागिता जनाउने छन्। सहभागी क्लबलाई ग्रुप ए,बी,सी,डी गरी चार समूहमा विभाजन गरेर खेलाइने उनले बताए। 

उनले बिजेता र उपविजेताले व्यक्तिगत विधामा ट्रफी, मेडल र नगद पुरस्कार प्राप्त गर्ने बताए ।

पत्रकार सम्मेलनमा बोल्दै न्याभका अध्यक्ष प्रेमराज उप्रेतीले खेलकुदको माध्यमबाट शान्ति एकता र सद्भाव प्रवर्द्धनमा बहुसांस्कृतिक फुटबलको निकै ठुलो महत्व रहेको बताए। विगतका दुई संस्करणको सफलताले यस प्रतियोगिताको लोकप्रियता थप बढेको उनले दाबी गरे । यस्तै रोयल वेस्टर्न क्लबका उपाध्यक्ष रोशन दाहालले यस प्रतियोगिताको निरन्तरताका लागि न्याभलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

प्रतियोगिताको टाइटल स्पोन्सर रहेको ब्राइटन कलेजका निर्देशक अमरराज आचार्यले मेलबर्न क्याम्पसले यस प्रतियोगितालाई टाइटल स्पोन्सर भएर सहयोग गर्न पाउँदा गर्व महसुस भएको भन्दै कलेज यस्ता महत्त्वपूर्ण कार्यक्रमहरूको प्रर्वद्धन गर्न प्रतिबद्ध रहेको बताए।

एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेजका सरोज शर्माले सामुदायिक कार्यक्रमहरूलाई प्रर्वद्धन गर्ने तिर आफ्नो समर्थन जारी राख्ने वाचा गरे।

ब्राइटन कलेजले मुख्य प्रायोजन गरेको उक्त प्रतियोगितालाई एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेज र रोयल वेस्टर्न क्लबले सह-प्रायोजन गरेका छन्।

उक्त पत्रकार सम्मेलनमा एनआरएन भिक्टोरीयाका नारायण कटुवाल, ब्राईटन कलेजका निर्देशक अमरराज आचार्य, एक्सपर्ट एजुकेसन एण्ड भिषा सर्भिसेज मेलबर्नका सरोज शर्मा र बसन्त पोखरेल, न्याभका पदाधिकारीहरू, रोयल वस्ट्रन क्लबबाट रोशन दाहाल, निर्मला शर्मालगायत प्रतियोगितामा सहभागी हुने विभिन्न क्लबका खेलाडीहरूको पनि उपस्थिति रहेको थियो।