प्रधानमन्त्री दाहाललाई नयाँ दिल्लीमा भव्य स्वागत

प्रधानमन्त्री दाहाललाई नयाँ दिल्लीमा भव्य स्वागत


नयाँ दिल्ली ।

भारतको चारदिने राजकीय भ्रमणका लागि नयाँ दिल्ली आइपुगेका प्रधानमन्त्री दाहाल बुधबार पहिलो दिन विभिन्न औपचारिक कार्यक्रममा सहभागी भए।

भारतीय प्रधानमन्त्री मोदीको निमन्त्रणामा भारत भ्रमणमा आएका प्रधानमन्त्री दाहाललाई नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका सङ्घीय विदेश मामिला तथा संस्कृति राज्यमन्त्री मीनाक्षी लेखीले स्वागत गरेकी थिइन्। सो क्रममा प्रधानमन्त्री दाहाललाई विभिन्न झाँकी र सांस्कृतिक प्रदर्शनीसहित विमानस्थलमा भव्य स्वागत गरिएको थियो।

प्रधानमन्त्री दाहालको स्वागतमा नयाँ दिल्लीका सडकसहित प्रमुख स्थलमा उनको तस्बिर अङ्कित स्वागतद्वार, ब्यानर र होर्डिङबोर्ड राखिएका छन्। प्रधानमन्त्री दाहाल नेतृत्वको प्रतिनिधिमण्डल होटल मौर्यमा बसेको छ। उनी बसेको होटलमा पुगी बुधबार नै भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले प्रधानमन्त्रीसँग शिष्टाचार भेट गरेका छन्। सो अवसरमा भारतीय विदेशसचिव विनयमोहन क्वात्रासमेत सहभागी थिए।

भेटघाटलगत्तै प्रधानमन्त्री दाहाल नेपाली राजदूतावासले आयोजना गरेको रात्रिभोजमा सरिक भए। सो अवसरमा उनले आफूले आजदेखि सुरु गरेको भारत भ्रमण दुई देशबीच सद्भावना अभिवृद्धि गर्न केन्द्रित रहने बताएका थिए। प्रधानमन्त्री दाहालले आपसी विश्वास तथा सद्भावना अभिवृद्धि गर्दै नेपाल र नेपालीको हितमा आफ्नो भ्रमण केन्द्रित रहने बताए।

प्रधानमन्त्री दाहालले नेपाल र भारतबीच सदिऔँ पुरानो र जनस्तरकोे सम्बन्ध रहेको दोहोर्याउँदै यस भ्रमणपछि दुई देशबीचको मैत्री सम्बन्ध थप नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गरे।

भ्रमणको तेस्रो दिन अर्थात् शुक्रबार उहाँ मध्यप्रदेशको इन्दोर प्रस्थान गर्ने कार्यसूची छ। त्यहाँ मध्यप्रदेशका राज्यपालसँग भेटघाट गर्नुका साथै इन्दोरमा अध्ययन भ्रमणसमेत गर्नेछन्। प्रधानमन्त्री दाहाल शनिबार अपराह्न ४ः२० बजे दिल्लीबाट काठमाडौँ फर्कने कार्यक्रम छ।