कांग्रेस नेतृ मीना पाण्डेको निधन

कांग्रेस नेतृ मीना पाण्डेको निधन


काठमाडौँ ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका पूर्वसदस्य एवं पूर्व महिला, बालबालिका तथा समाज कल्याणराज्यमन्त्री मीना पाण्डेको आज अपराह्न काठमाडौँको गौशालास्थित निजी निवासमा निधन भएको छ।

आजै अपराह्न ५ बजे उहाँको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि पशुपति आर्यघाटमा एक घण्टा राखी दाहसंस्कार गरिने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

विसं २००८ मा जन्मेकी पाण्डेले विसं २०३५ मा नेपाल विद्यार्थी सङ्घबाट राजनीतिक जीवनयात्रा प्रारम्भ गरेकी थिइन्। तीन पटकसम्म कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य रहेकी स्व पाण्डे विसं २०४८, २०५१ र २०७४ मा प्रतिनिधिसभा सदस्य थिइन् भने विसं २०६४ मा संविधानसभा सदस्य भएकी थिइन्।

उनी कांग्रेसको भ्रातृ संस्था नेपाल महिला सङ्घको दुई पटक सभापति भएकी थिइन्। नेपालमा प्रजातन्त्रको स्थापना र पुनःस्थापनाका क्रममा उनलेपटक–पटक जेल जीवनसमेत व्यतित गरेकी थिइन्। उनको निधनबाट कांग्रेसले एक अनुभवी महिला नेतृत्वलाई गुमाएको र अपूरणीय क्षति पुगेको जनाएको छ।

स्व पाण्डेप्रति सम्मान प्रकट गर्दै शोक कार्यक्रम
कांग्रेस केन्द्रीय कार्यालयले स्व पाण्डेप्रति सम्मान प्रकट गर्दै यही जेठ १६, १७ र १८ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा झण्डा आधा झुकाउने जनाएको छ। यसैगरी जेठ १७ गते केन्द्र तथा जिल्ला कार्यालय बन्द गर्ने, स्वर्गारोहणको १३ दिनसम्म केन्द्र र जिल्ला कार्यालयमा शोक पुस्तिका राख्ने र स्वर्गारोहणको १३औँ दिनमा सम्बन्धित जिल्लामा शोकसभाको आयोजना गर्ने जनाएको ।

कांग्रेस सभापति शेरबहादुर देउवाले उनको निधनप्रति दुःख व्यक्त गर्दै आत्माको चिर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनमा पार्टी र आफ्नो तर्फबाट समवेदना प्रकट गरेका छन्। साथै सभापति देउवाले नेत्री पाण्डेको निधनको खबरले अत्यन्त मर्माहत र स्तब्ध बनाएको उल्लेख गर्दै नेपालको लोकतान्त्रिक आन्दोलन तथा महिला हकअधिकारका लागि उनले पुर्याएको सक्रिय योगदान पार्टीको इतिहासमा सदा स्मरणीय रहिरहने बताएका छन्।

पाण्डेको निधनबाट कांग्रेसले एक अनुभवी महिला नेतृत्वलाई गुमाएको जनाएको छ।