ब्रिस्वेनमा फेन्काले मनायो अन्तर्राष्ट्रिय सगरमाथा दिवस (तस्बिरसहित)

ब्रिस्वेनमा फेन्काले मनायो अन्तर्राष्ट्रिय सगरमाथा दिवस (तस्बिरसहित)


ब्रिस्वेन अष्ट्रेलिया ।

अष्ट्रेलियाको नेपाली सामुदायिक महासंघ (फेन्का) ब्रिस्वेनले अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाएको छ। ब्रिस्वेनको नेपाली समुदायले आज बिहान माउन्ट कोथाको हाइकिङ गरेर अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाएको हो। 

हाइकिङ सकेपछि अनौपचारिक कार्यक्रमको आयोजना गरिएको थियो। कार्यक्रममा बोल्दै फेन्काका क्वीन्सल्याण्ड संयोजक राजन कोइरालाले अन्तर्राष्ट्रिय सगरमाथा दिवस अष्ट्रेलियामा मनाउँनुले नेपालको पर्यटन क्षेत्रको प्रर्वद्धन हुने बताए। उनले यो एक ऐतिहासिक क्षण भएकाले यसलाई जोगाइराख्नु हाम्रो कर्तव्य भएको बताए। उनले विश्वव्यापीकरणले वायुमण्डलमा परेको असले नेपालका हिमालहरू कालो पहाडमा परिणत हुँदै गएको अवस्थामा यस्ता कार्यक्रमले हिमालको संरक्षण थोरै भए पनि सहयोग पुग्ने विश्वास व्यक्त गरे।  हिमालहरूको संरक्षण कसरी गर्न सकिन्छ र आउने पीढीका लागि अहिले के के गर्न सकिन्छ भन्ने नै कार्यक्रमको मुख्य उद्देश्य रहेको कोइरालाले बताए। 

उनले व्यस्तताका बाबजुद पनि सहभागिता जनाएर कार्यक्रमलाई भव्यरुपमा सम्पन्न गर्ने सबैलाई धन्यवाद दिएका थिए। उनले यस कार्यक्रमलाई सम्भव तुल्याउन आर्थिक सहयोग गर्ने सबैको नाम उच्चारण गर्दे धन्यवाद दिएका थिए। उनले हरेक वर्ष मे २९ तारिख अष्ट्रेलियाका हरेक राज्यमा फेन्काले अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाउँदै आएको भए पनि यस वर्ष २८ मा नै मनाएको जानकारी दिए। 

कार्यक्रममा बोल्दै अष्ट्रेलियन नागरिक पओल ह्वीलले काठमाडौँदेखि सगरमाथाको बेसक्याम्पसम्म जाँदाको अनुभव सुनाउँदै नेपालीहरूको बानी व्यवहारबाट आफू निकै नै प्रभावित भएको बताएका थिए।  

कार्यक्रममा क्विन्सल्याण्ड नेपाली सांस्कृतिक केन्द्र (क्वीएनसीसी) अध्यक्ष डा. केशव शर्मा, एनएक्वीका अध्यक्ष देवराज पौडेल, डा. प्रदिप न्यौपाने र नायक, निर्देशक तथा शारीरिक व्याम प्रशिक्षक नितेशराज पन्तले धारणा राखेको थिए। नेपाली र अष्ट्रेलियन राष्ट्रिय गाना गायर सुरु भएको सो कार्यक्रमलाई डा. हेमाङ्ग शर्माले संचालन गरेका थिए। 

कार्यक्रममा सहभागीलाई ससेज, सिजल, फलफूल र चिया खाने व्यवस्था पनि गरिएको थियो। यसको व्यवस्था मार्क अर्याल, राज शर्मा र रमेश न्यौपानेले गरेका थिए। 

बिहानी पखको चिसोमा पनि बालबालिकादेखि बद्धसम्म आफ्नो देशको गौरव सगरमाथाको तस्बिर अंकित फेन्काको टिसर्ट लगाएर स्वोस्फर्त रुपमा हाकिङमा सहभागी हुँदाको दृश्यले दर्शकको आँखा तानेको थियो। 

न्यूजिल्याण्डका सर एडमन्ड हिलारी र नेपालका तेन्जिङ नोर्गे शेर्पाले सन् १९५३ मे २९ मा सगरमाथाको सफल आरोहण गरेका थिए। २००८ मा सर एडमन्ड हिलारीको निधन पछि नेपालले यो दिनलाई अन्तर्राष्ट्रिय सगरमाथा दिवसको रूपमा मनाउने आधिकारिक निर्णय गरेको थियो। 

त्यसपछि हरेक वर्ष देश तथा विदेशमा रहेका पर्वतारोहीहरू सहित अन्य व्यक्तिहरूले यस दिनलाई उत्सवको रूपमा मनाउने गर्दछन्।

तस्बिर: किरण खनाल