मेलबर्नको नेपाली बहुसांस्कृतिक केन्द्रको लागि एकैदिन ७५ हजार डलर जुट्यो !

मेलबर्नको नेपाली बहुसांस्कृतिक केन्द्रको लागि एकैदिन ७५ हजार डलर जुट्यो !



मेलबर्न, अष्ट्रेलिया ।

अष्ट्रेलियाको मेलबर्नमा रहेको अष्ट्रेलियन नेप्लीज मल्टिकल्चरल सेन्टरको आयोजनामा गरिएको फन्डरेजर गाला डिनरमा ७५ हजार डलर सहयोग संकलन भएको छ । मे २० तारिखमा आयोजना गरिएको सांस्कृतिक कार्यक्रमसहितको सहयोग संकलन अभियानमा २ सय भन्दा बढी भिक्टोरियावासी नेपालीहरुको सहभागिता थियो ।

भिक्टोरिया सरकारले बहुसांस्कृतिक केन्द्रलाई उपलब्ध गराएको राशी बराबरको सहयोग समूदायबाट जुटाउने प्रयोजनका लागि उक्त कार्यक्रम गरिएको थियो । हाल बहुसांस्कृतिक केन्द्र रहेको परिसरमा अवस्थित आवासीय भवनलाई नै मर्मत गरी अस्थायी हिन्दू मन्दिर, बौद्ध प्रर्थनालय र योग हल बनाउने काम धमाधम भइरहेको छ ।

सगरमाथा क्लबको संयोजनमा भएको कार्यक्रममा विविध सांस्कृतिक प्रस्तुति समेत दिइएको थियो । कार्यक्रममा मेलबर्नका व्यवसायी सुरेन्द्र सेढाईले संस्थाको संरक्षक बन्ने बताएका थिए भने विभिन्न सामग्रीको लीलामी र मन्दिरको ईंटा बिक्रीबाट सहयोग जुटाइएको थियो । कार्यक्रममा बोल्दै बहुसांस्कृतिक केन्द्रका अध्यक्ष गान्धी भट्टराईले अहिलेसम्म गरेका कामकारवाही र अबका योजनाबारे जानकारी दिएका थिए । अहिलेको सहयोग किन आवश्यक परेको हो भन्ने विषयमा उनले आफ्नो धारणा राखे । उनले बहुसांस्कृतिक केन्द्र यहाँसम्म आइपुग्नमा योगदान दिने यसअघिका सबै नेतृत्वसहित कार्यसमितिका सदस्यहरु र बृहत्तर भिक्टोरियाको नेपाली समूदायका स्वयंसेवकहरुलाई धन्यवाद दिएका थिए ।

कार्यक्रममा बहुसांस्कृतिक केन्द्रका सचिव तिलक पोखरेलले हाल भइरहेको निर्माण कार्य, संस्थाको गुरुयोजनाको विस्तृत जानकारी दिएका थिए । उनले भिक्टोरिया सरकारबाट करिब ५ लाखको अनुदान प्राप्त भएपनि त्यति नै मात्रामा समूदायले समेत सहयोग जुटाए मात्र त्यो रकम प्रयोग गर्ने अवस्था हुने भएकोले सहयोग गर्न सबैलाई अनुरोध समेत गरेका थिए ।

कार्यक्रमको संयोजन गरेका एक्सपर्ट सगरमाथा ब्लूज क्लबका सुदिप न्यौपानेले समूदायको सक्रिय सहभागिताका कारण सफल बनेको बताएका छन् । उनले यस्तो कार्यका संयोजन गर्न पाउँदा खुशी लागेको प्रतिक्रिया दिएका छन् ।