न्युजिल्याण्डका सर एडमण्ड हिलारी र नेपालका तेञ्जिङ्ग नोर्गेले सन् १९५३ मे २९ का दिन विश्वको सर्बोच्च शिखर सगरमाथा माथि पाइला टेकेको दिन मानब इतिहासमा एक प्रशंसनीय कदम भएको र यस उपलब्धिको उच्च सम्मान गर्दै सन् २०१४ देखि गैर आबासीय नेपाली संघ न्युजिल्याण्डले यस दिन लाई सगरमाथा दिवस भनेर मनाउदै आएको छ।
यस अभूतपूर्व उपलब्धि प्राप्त भएको ७० बर्ष पुगेको अवसरलाई बिशेष रुपमा मनाउन न्युजिल्याण्डको अक्ल्याण्डमा २७ मे का दिन, ह्यामिलटनमा २८ मे का दिन र ३१ मे का दिन वेलिंगटनमा विभिन्न कार्यक्रमहरुका साथ मनाउने तैयारी भरहेको छ। यी कार्यक्रमहरुमा न्युजिल्याण्डमा रहनु भएका सगरमाथा आरोहीहरुलाई सम्मान गर्दै हिमाल अरोहणसंग जोडिएका महत्वपूर्ण पक्षहरुको स्मरण गरिनेछ। सर एडमण्ड हिलारीले स्थापना गर्नु भएको संस्था हिमालयन ट्रस्टले सगरमाथा क्षेत्रमा शिक्ष्या, स्वास्थ्य पर्यावरण लगायत क्षेत्रमा उल्लेखनीय कार्यहरु गरिरहेको र यी कार्यहरुलाई निरन्तरता दिन पनि सगरमाथा दिवसले सघाउ पुर्याउने गरेको छ।
७० औं सगरमाथा दिवसलाई सफलताका साथ सम्पन्न गर्न गैर आबासीय नेपाली संघ न्युजिल्याण्ड, हिमालयन ट्रस्ट, अवैतनिक बाणिज्य दुतको कार्यालय, अस्ट्रेलिया स्थित नेपाली दुताबास, न्युजिल्याण्डमा रहेका नेपाली संघ संस्थाहरु र यहाँको नेपाली समुदायको आपसी सहयोग रहने र आगामी दिनहरुमा हिमाल अरोहणसंग निकट न्युजिल्याण्डका सरकारी तथा गैर सरकारी संस्थाहरु बीच पनि सौहार्दतामा वृद्धि हुने विश्वास गरिएको छ ।
यस ७० औं सगरमाथा दिवस को आयोजनाबाट सगरमाथा सहित नेपालका अन्य उच्च हिमाल आरोहणमा प्राप्त साहसिक उपलब्धिहरुको महत्वमा वृद्धि हुने, नयाँ पुस्तालाई हिमाल अरोहण प्रति आकर्षण गर्न सघाउ पुर्याउने र साथै न्युजिल्याण्ड र नेपाल बीचको सम्बन्धलाई थप गाढा बनाउन मदत पुग्ने पनि आशा गरिएको छ।
पहिलाका बर्षहरु झैं यस आयोजनालाई न्युजिल्याण्डमा रहेका संचार माध्यमहरुले उत्सुक्तापुर्बक हेरिरहेको पनि पाइन्छ। ७० औं दिवस परेको बिशेष समयमा २९ मे का दिनलाई न्युजिल्याण्डमा खास रुपमा चिनाउन न्युजिल्याण्डको क्यालेन्डरमा महत्वकासाथ समाबेश गर्नको लागि प्रधानमन्त्रि समक्ष अनुरोध गरिने योजना रहेको पनि गैर आबासीय नेपाली संघ न्युजिल्याण्डले जनाएको छ।
प्रतिक्रिया