मेलबर्न, अष्ट्रेलिया ।
नेपालको भ्रमणमा रहेका अष्ट्रेलियाका उपविदेशमन्त्री टिम वाट्स आफ्नो दुईदिने भ्रमणको दोश्रो दिन बुधबार निकै व्यस्त रहे । प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटअघि उनले तिलगंगा आँखा अस्पतालमा पुगेर डा. सन्दुक रुईतसहितका व्यवस्थापनसँग सम्बन्धित अधिकारीहरुलाई भेटेका थिए । डा. रुईतले अष्ट्रेलियामा अध्ययन गरेका हुन् । यस्तै अष्ट्रेलियामा छात्रवृत्ति पाएर नेपालमा फर्किई काम गरिरहेकाहरुसँगको छुट्टै कार्यक्रममा समेत उनी सहभागी भएका छन् । अष्ट्रेलियाको अध्ययनले नेपालको विकासमा उनीहरुले खेलेको भूमिका र योगदानको चर्चा कार्यक्रममा गरिएको थियो ।
यस्तै उपविदेशमन्त्री वाट्सले नेपाली महिला नेतृहरुसँग लन्च मिटिंग गरेका छन् भने बलिउड नायिका मनिषा कोइरालासँगको भेटलाई पनि निकै महत्व दिएर आफ्नो सामाजिक सञ्जालमा शेयर गरेका छन् ।
पशुपतिनाथको भ्रमणले उनलाई निकै सन्तोष दिएको भन्दै नेपालमा हिन्दूहरुको बढ्दो संख्यालाई समेत उनले उक्त पोष्टमा उल्लेख गरेका छन् । यसअघि ललितपुर महानगरमा रहेको मन्दिरबाट चोरी भएको र न्यूसाउथवेल्स म्युजियममा रहेको एक टुंडाल उनले फिर्ता गरेका थिए ।
अष्ट्रेलियन प्रधानमन्त्रीलाई भ्रमण निम्तो
नेपालको भ्रमणमा रहेका अष्ट्रेलियाका उपविदेशमन्त्री वाट्सँगको भेटमा प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्ना समकक्षी एन्थोनी एल्बानिजीलाई नेपाल भ्रमणको निम्तो दिएका छन् । उपविदेशमन्त्रीसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले नेपालको विकास र समृद्धिमा अस्ट्रेलियन सरकार र जनताको सहयोगको निरन्तरताको अपेक्षा गरेको बताए । उनले अस्ट्रेलियामा रहेका नेपाली विद्यार्थीहरूको अवस्था र समस्याहरूका बारेमा चासो व्यक्त गरेका थिए ।
यस्तै नेपालको आर्थिक समृद्धिमा कृषि क्षेत्रको व्यवसायीकरण र कृषिमा आधारित उद्योगहरूको विकास र पर्यटन क्षेत्रको प्रवर्द्धनमा सहयोगका बारेमा पनि छलफल भएको थियो । वाट्सले अस्ट्रेलियामा नेपालीहरूले राम्रो प्रभाव पारेको भन्दै उनीहरूको योगदानको प्रशंसा पनि गरे । उनले नेपालको विकास र समृद्धिको अभियानमा अस्ट्रेलियन सरकार र जनताको सहयोगको सहयोग निरन्तर रहने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया