अष्ट्रेलियाका उपविदेशमन्त्री नेपालमा, प्रधानमन्त्रीसहित उच्चस्तरीय भेटघाट तय !

अष्ट्रेलियाका उपविदेशमन्त्री नेपालमा, प्रधानमन्त्रीसहित उच्चस्तरीय भेटघाट तय !


मेलबर्न, अष्ट्रेलिया ।

अष्ट्रेलियाका उपविदेशमन्त्री टिम वाट्स नेपालको दुई दिने भ्रमणका लागि काठमाडौं पुगेका छन् । भुटानबाट नेपालको राजधानी काठमाडौंमा उत्रिएका उनलाई परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले स्वागत गरेका छन् ।

विमानस्थलमा उत्रिनेवित्तिकै उनले दुई देशको विशेष सम्बन्धलाई अझ मजबुत बनाउन यो भ्रमण उपलब्धीपूर्ण बन्ने अपेक्षा व्यक्त गरे । उनले अष्ट्रेलियामा रहेका १ लाख ३० हजारभन्दा बढी नेपालीमूलका अष्ट्रेलियनहरुलाई स्मरण गर्दै सबैभन्दा छिटो बढ्दै गरेको यो समूदायको मूलथलोमा आउन पाउनु खुशीको कुरा भएको बताएका छन् ।

आज काठमाडौं उत्रिएका उनले प्रधानमन्त्री पुष्पकमल दाहालसहित उच्च सरकारी अधिकारीहरुसँग भेट गर्ने तय भएको छ । मन्त्री वाट्स भोलि स्वदेश फर्कनेछन् ।

अष्ट्रेलियामा नेपाली विद्यार्थीहरु उच्च संख्यामा पढ्ने गर्दछन् । यहाँ चीन र भारतपछि नेपाली विद्यार्थीको संख्या धेरै रहेको छ । यी दुईदेशबीच सम्बन्ध सुधारका लागि नेपाली दूतावास क्यानबेरा र अष्ट्रेलियाको नेपाली समूदायले लामो समयदेखि आग्रह, अनुरोध र गृहकार्य गरेको थियो ।

अष्ट्रेलिया र नेपालबीच दौंत्य सम्बन्ध स्थापना भएको ६३ वर्षभएपनि गएको ३० वर्षदेखि अष्ट्रेलियाबाट मन्त्रीस्तरीय भ्रमण भएको थिएन । केही सांसदहरु र पूर्वमन्त्रीहरु आफ्नै निजी भ्रमणमा गएपनि औपचारिक भ्रमण भने तीन दशकपछि भएको हो ।