नेपाल न्यूज अष्ट्रेलियाको १० औं वार्षिक उत्सव सिड्नीमा, प्रवासी पत्रकारिताबारे अन्तरक्रिया

नेपाल न्यूज अष्ट्रेलियाको १० औं वार्षिक उत्सव सिड्नीमा, प्रवासी पत्रकारिताबारे अन्तरक्रिया


सिड्नी, अष्ट्रेलिया ।

अष्ट्रेलियाबाट सञ्चालित नेपालन्यूज अष्ट्रेलियाले आफ्नो १० औं वार्षिकोत्सव मनाएको छ । शुक्रबार सिड्नीको रकडेलमा आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथि र वक्ताका रुपमा वरिष्ठ पत्रकार हरिबहादुर थापा, गोरखापत्र संस्थनका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदी, रेडियो नेपालका प्रमुख सम्वाददाता प्रमोद दाहाल, नेपाल टेलिभिजनका प्रमुख कार्यकारी अध्यक्ष समिरजंग शाह लगायत सहभागी थिए । यही कार्यक्रमका लागि चार वरिष्ठ पत्रकारसहित ८ जनाको टोली सिड्नी आएको छ । कार्यक्रममा बोल्दै नेपालन्यूज अष्ट्रेलियाका निर्देशक एवं एन्जाका संरक्षक हेमन्त काफ्लेले प्रवासको पत्रकारितालाई समाजले हेर्ने दृष्टिकोण स्पष्ट हुनुपर्ने धारणा राखेका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै नेपालन्यूज अष्ट्रेलियाका सम्पादक एवं एन्जाका उपाध्यक्ष कृष्ण तिवारीले संस्थाको उतार चढावमा साथ दिने सबैलाई धन्यवाद दिँदै हातहातमा पुग्ने छापा पत्रकारिताबाट अहिले अनलाईनसम्म आइपुग्दा उत्तिकै माया दिने अष्ट्रेलियावासी पाठकहरु सबैभन्दा बढी धन्यवादको पात्र भएको बताए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं वरिष्ठ पत्रकार हरिबहादुर थापाले रहर र प्यासनका आधारमा चलेको प्रवासको पत्रकारितालाई लामो समयसम्म टिकाउन निकै मुस्किल हुने सन्दर्भमा नेपालन्युज अस्ट्रेलियाले आफ्नो दसौं वर्ष पुरा गरेको खुसी व्यक्त गर्दै थापाले सामाजिक दायित्वसमेत पूरा गरेको बताए।प्रवासको नेपाली समुदायलाई जोड्ने र स्थानीय गतिविधिलाई एक अर्काको पहुँचमा पुर्‍याउने काममा यहाँका सञ्चारकर्मीले भूमिका खेल्नुपर्ने धारणा राखे।

कार्यक्रममा बोल्ने अधिकांश वक्ताले यहाँका सञ्चारकर्मीलाई समाजले पनि सकारात्मक सहयोग गर्नुपर्ने खाँचो रहेको औल्याए।
“नेपाली पत्रकारको आँखामा प्रवासी पत्रकारिता” शीर्षकको अन्तर्क्रिया कार्यक्रममा बोल्दै नेपाल टेलिभिजनका प्रमुख कार्यकारी अध्यक्ष शमिरजंग शाहले बदलिएको सञ्चारकर्मलाई प्रवासका पत्रकारले उचित मूल्याङ्कन गरी आफ्नो मूल्य र मान्यतामा ध्यान दिएर पत्रकारिता गर्न सुझाव दिएका थिए ।

उनले व्यस्त जीवनबीच थोरै समय छुट्याएर पत्रकारितालाई जिवितै राख्नु गर्वको विषय भएको भन्दै यसलाई निरन्तरता दिनुपर्ने बताए ।
यस्तै गोरखापत्र संस्थानका प्रमुख कार्यकारी अध्यक्ष विष्णु प्रसाद सुवेदीले उच्च शिक्षा अध्ययन तथा कामका शिलसिलामा विभिन्न मुलुकमा पुगेका नेपाली सञ्चारकर्मीले प्रवासमा मात्र नभएर नेपाली मुलधारका मिडियामा समेत डायस्पोराका गतिविधिबारे समाचार सम्प्रेषण गर्दै आएको स्मरण गर्दै निरन्तरताको कामना गरे।

कार्यक्रममा रेडियो नेपालका चिफ रिपोर्टर प्रमोद दाहालले विभिन्न बाध्यता र परिस्थिति बिच विदेसीएका पत्रकारले प्रवासमा पनि राम्रो छाप छोडेको बताए। उनले यसलाई आगानी दिनमा निरन्तरता दिनुका साथै सामाजिक दायित्वसमेत निर्वाह गर्न आग्रह गरे।
कार्यक्रममा बोल्दै अष्ट्रेलियन नेप्लीज जर्नलिष्ट एशोसिएनस एन्जाका अध्यक्ष चिरञ्जीवी देवकोटाले नेपालमा पत्रकारहरुले समेत विभिन्न राजनीतिक दलका शुभेच्छुक संस्था बनाएर संगठित बन्ने गरेकोमा अब भने यसलाई हटाउनुपर्ने बेला आएको धारणा राखेका थिए । उनले नेपालबाट आएका प्रमुख अतिथिसहितका वक्ताहरुलाई उनीहरुको धारणा सोधेका थिए । जवाफमा अधिकांशले राजनीतिक आस्थाका आधारमा पत्रकारहरु पनि समूहबद्ध हुने काम रोक्न ढिला भइसकेको बताए ।

कार्यक्रममा उपस्थित समाजका अगुवा इन्द्रा बनले नेपाली पत्रकारले समुदायउन्मुख पत्रकारिता गर्नुपर्ने भन्दै निरन्तरताको कामना गरिन्। कार्यक्रममा नेपाल न्यूज अष्ट्रेलियाको १० वर्षे यात्रा र उतारचढावबारे हेमन्तराज काफ्लेले प्रकाश पारेका थिए। उनले एकातिर हातमुख जोड्ने समस्याले अन्य काम गर्नुपर्ने बाध्यता रहेको भन्दै अर्कोतिर आफ्नो आत्मरतिको कारण नेपालमा गरिआएको पत्रकारितालाई छोड्न नसक्नुको प्रमाण नै नेपाल न्यूज अष्ट्रेलियाको १० औं वार्षिकउत्सव मनाउनु रहेको बताए।
कार्यक्रममा प्रधान सम्पादक माधव गैरेले प्रवासको पत्रकारिता सोचेजस्तो सहज र उपलब्धि मुलक हुन नसकेको भन्दै बचेको थोरै समयलाई उचित सदुपयोग गरेको स्पष्ट पारे।

वार्षिकोत्सवकै अवसरमा आयोजित कार्यक्रमकैबीच प्रवासी नेपालीले नेपालको विकास निर्माणमा कसरी सहयोग गर्न सक्छन्, यहाँको लगानी नेपाल कसरी लैजान सकिनेछ भन्ने विषयमा समेत विमर्श गरिएको थियो । जसमा व्यवसायी ज्ञानेन्द्र कार्कीले ‘कनेक्ट एनआरएन, बिल्ट नेपाल’ अभियानको सुरूआतबारे जानकारी दिएका थिए । एनआरएन अष्ट्रेलियाका कोषाध्यक्ष अनिल पोखरेल र सीसाका पूर्वअध्यक्ष विजय सापकोटाले धारणा राखेका थिए।

कार्यक्रममा ओएनएफका अध्यक्ष केशव जोशी, जनसम्पर्क समिति अष्ट्रेलियाका अध्यक्ष शुरेस गुरूङ, ब्लाकटाउन सिटी काउन्सिलका काउन्सिलर लिभिङ्स्टन चेट्टीपल्ली, ९अर्बन होम्स० अर्बन होम्स, एनएसडब्लु, लाभिस कन्स्ट्रक्सन एण्ड डेभलपमेन्टका नितिन बात्रा र शक्तिदा बानियाँ, आइसिसी ओसिनिया रिजनल कोअर्डिनेटर दिनेशराज जोशी, एनआरएनए अष्ट्रेलियाका अध्यक्ष नन्द गुरूङ, कानुन व्यवसायी, एवं नेपाल न्यूज अष्ट्रेलियाका कानुनी सल्लाहकार शमशेर सिंह थापा, सम्बोधन गर्दै कार्यक्रमलाई शुभकामना दिएका थिए।