सिड्नी, अष्ट्रेलिया ।
नेपालमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री एवं नेपाली काँग्रेसका नेता बालकृष्ण खाँडकी श्रीमती एवं सांसद मन्जु खाँड सिड्नी आइपुगेकी छिन् । उनी नेपाल महिला संघकी महासचिव समेत हुन् । सिड्नीमा आफ्नो छोरा र भाई भएका कारण उनी शुक्रबार विहान यहाँ आइपुगेकी हुन् ।
नेकपा एमालेको प्रवासी मञ्च अन्तर्राष्ट्रिय समितिका उपाध्यक्ष रमेश पाण्डेका अनुसार शुक्रबार सिड्नीको अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेकी उनलाई लिन विमानस्थलमा उनका छोरा पुगेका थिए । छोरा उनको पहिलो श्रीमानपट्टीका हुन् ।
यस विषयमा सिड्नीमा रहेका केही पत्रकारहरुले आफ्नो सामाजिक सञ्जालमा समेत जानकारी पोष्ट गरेको भएपनि केही समय पछि दबाबमा हटाएका थिए । अहिले पनि पुराना पत्रकार हेमन्त काफ्लेको टाईमलाईनमा यो देख्न सकिन्छ ।
हेर्नुहोस् –
उक्त फोसबुक पोष्टमा यहाँका जनसम्पर्क समिति सम्बद्ध नेताहरुले पनि कमेन्ट गरेको देखिन्छ ।
केविसीखबरसँग कुरा गर्दै प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका उपाध्यक्ष पाण्डेले नेपालको गृह प्रशासनकै मिलेमतोमा पक्राउ पर्नुपर्ने व्यक्ति सिड्नी आइपुगेको भन्दै बचाउन गृह प्रशासन र स्वयं गृहमन्त्री नारायणकाजी श्रेष्ठ लागेको आशंका व्यक्त गरे । उनले भने, भ्रष्टाचारी चाहे जुनसुकै पार्टीको भएपनि कारवाही हुनुपर्ने हो तर हाम्रो देशमा बाहिर लोकरिझ्याईका लागि एउटा भन्ने र भित्रभित्रै अर्को काम गर्ने चलन अझै हट्न सकेको छैन ।
प्रतिक्रिया