कालापानीबाट भारतीय सेना फिर्ता गर्नुपर्छ : वामदेव गौतम

कालापानीबाट भारतीय सेना फिर्ता गर्नुपर्छ : वामदेव गौतम


काठमाडौँ ।

राष्ट्रिय सभाका सांसद एवं पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले कालापानी, लिपुलेक र लिम्पियाधुराबाट भारतले तत्काल आफ्ना सुरक्षाफौज र कर्मचारी फिर्ता लैजानुपर्ने बताएका छन्।

शनिबार काठमाडौंमा वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी र डा.अच्युत गौतमद्वारा संयुक्त रुपमा लिखित पुस्तक ‘नेपाल भारत फर्नलेयर डिप्लोमेसी इन रिफ्रेन्स टु काली रिभरः पर्सपेक्टिभ अफ इन्टरनेसनलको विमोचन कार्यक्रममा बोल्दै उनले उक्त भूभाग नेपालको भएको र भारतले सेता फिर्ता लिनुपर्ने धारणा राखेका हुन् ।

नेपाली भूभाग कुनै पनि हालतमा नेपालले फिर्ता लिनैपर्ने उनको भनाइ थियो । भारतले नेपालको धेरै भूगोल मिचेको उल्लेख गर्दै उनले त्यो भूभाग फिर्ता लिन नेपाललाई अन्तराष्ट्रिय कानुनले पनि सहयोग गर्ने उनले स्पष्ट पारे ।

नेपालको सिंगो संसदमा सबै राजनीतिक दलहरुको सर्वसम्मतिले पारित गरेर नेपालले आफ्नो नक्शामा समावेश गरेको कुरा विश्वलाई नै जानकारी भएको उल्लेख गर्दै सांसद गौतमले त्यसमा भारतले मिचाहा प्रवृत्ति देखाउन नमिल्ने बताए ।

नेपाल ४ हजार वर्षदेखि स्थापित रहेको तर भारत १९४७ बाट बनेको उल्लेख गर्दै उनले त्यो भन्दाअघि किम्वदन्ती र पुराणमा उल्लेख भएको भारत भएको बताए ।