एन्जाले मनायो सिड्नीमा विश्व प्रेस स्वतन्त्रता दिवस, दुई पत्रकार सम्मानित

एन्जाले मनायो सिड्नीमा विश्व प्रेस स्वतन्त्रता दिवस, दुई पत्रकार सम्मानित


मेलबर्न अष्ट्रेलिया ।

अष्ट्रेलियामा कार्यरत नेपालीमूलका पत्रकारहरुको साझा संस्था अष्ट्रेलियन नेप्लीज जर्नलिष्ट एशोसिएसन (एन्जा) सिड्नीमा विश्व प्रेस स्वतन्त्रता दिवस मनाएको छ । शुक्रबार सिड्नीमा न्यूसाउथवेल्स राज्यमा रही क्रियाशील समूदायका अग्रजहरुको उपस्थितिमा विश्व प्रेस स्वतन्त्रता दिवस मनाएको हो ।

सो अवसरमा एन्जाले अष्ट्रेलियामा कार्यरत पत्रकार द्वय हेमन्त काफ्ले र ऋषि आचार्यलाई टीका कार्की सक्रिय पत्रकारिता पुरस्कारबाट सम्मानित गरेको छ । अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेलले पत्रकार द्वय काफ्ले र आचार्यलाई पुरस्कार वितरण गरेका थिए । एन्जा स्थापनामा सक्रिय भुमिका खेलेका काफ्ले र आचार्यले जनही पाँच सय अष्ट्रेलियन डलर नगद र प्रमाणपत्र प्राप्त गरे ।

कार्यक्रममा बोल्दै एन्जाका पदाधिकारीसहित नेपाली समूदायका अगुवाहरुले प्रवासी नेपालीहरुलाई मातृभूमीसँग जोड्न प्रवासपत्रकारिताले महत्वपूर्ण भुमिका खेलेको धारणा राखेका थिए । कार्यक्रमको समापन गर्दे एन्जाका अध्यक्ष चिरञ्जीवी देवकोटाले अझ जिम्मेवारीका साथ पत्रकारिता गर्ने हौसला मिलेको भन्दै कार्यक्रममा सहभगिता जनाउने प्रमुख अतिथि, अतिथि, समुदायका अगुवालगाय एन्जा पदाधिकारीहरुलाई धन्यवाद दिएका थिए ।

एक हजार डलर राशीको पुरस्कार पहिलो पटक एन्जाका पूर्वअध्यक्षहरु काफ्ले र आचार्यलाई संयुक्त रुपमा पाएका हुन् । हिमालय रेडियोमा विगत दुई दशकदेखि क्रियाशील पत्रकार टीका कार्कीको स्मृतिमा पुरस्कार स्थापना गरिएको हो । हरेक दुई वर्षमा क्रियाशील पत्रकारलाई एवार्ड र नगदसहित सम्मान गर्ने गरिन्छ ।

उक्त कार्यक्रमलाई ब्राईटन कलेजले फ्रिडम ईभेन्ट पार्टनरका रुपमा सघाएको थियो। यस्तै फ्रिडम सपोर्टरका रुपमा एनआरएन अष्ट्रेलिया, न्यूसाउथवेल्स महावाणिज्यदूतको कार्यालय र एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजले सहकार्य गरेको थियो। सपोर्टरका रुपमा एविसी ग्लोबल, अस स्टडिज, ईन्ट्याक्ट माईग्रेसन सर्भिसेज र केविए ग्लोबल रहेका थिए ।

तस्बिरः एन्जाका अध्यक्ष चिरञ्जीवी देवकोटाको फेसबुकबाट