मेलबर्न अष्ट्रेलिया ।
अस्ट्रेलियाको उत्तरी सहर डार्बिनमा ‘नेपाल फेस्टिभल २०२३’ को आयोजना गरिने भएको छ । गैर आवासीय नेपाली संघ अस्ट्रेलियाको सिग्नेचर कार्यक्रम मध्यकाे एक मानिने नेपाल फेस्टिभल जुन १० तारिख डार्बिनमा गर्न लागिएको हो ।
उक्त कार्यक्रमका लागि जिम्मेवारी बाँडफाँडको क्रम सुरु भइसकेको एनआरएनए नर्दन टेरिटोरीका उपाध्यक्ष संजिव ढकालले जानकारी दिए । कार्यक्रमका संयोजक समेत रहेका ढकालले यस वर्षको नेपाल फेस्टिभललाई अझै प्रभावकारी बनाउन सम्पूर्ण टिम लागिपरेको बताए ।
नेपाल फेस्टिभल २०२२ का संयोजक समेत रहेका ढकालले भने, ‘जुन सफलताका साथ विगतको नेपाल फेस्टिभल गराएका थियौ, त्यो भन्दा अझ उत्कृष्ट बनाउन सम्पूर्ण टिम लागि परेका छौँ। २०२२ को महोत्सव सफल बनाउन दिनरात खट्ने ३०० स्वयंसेवकको काम र मेहनतको उच्च मुल्यांकन गर्दै यो वर्ष अझै धेरै नेपालीहरूलाई समेटी फेस्टिभललाई अझ प्रभावकारी बनाउन लागि परेका छौ।’
२०२२ को नेपाल फेष्टिभलमा करिब दश हजार बढीको सहभागिता रहेको थियो । यहाँ रहेका नेपालीवासीको उल्लेख्य सहभागिताले २०२२ को नेपाल फेस्टिभल भव्यताका साथ सम्पन्न भएको थियो । उक्त महोत्सवको मुख्य आकर्षणको रूपमा नेपाली धरहराको प्रतिमूर्ति, नेपाल हाउस, नेपालमा पाइने चियाका परिकार चाख्न पाइने, बालबालिकाको लागि विभिन्न गतिविधि, नेपाली खानाका विभिन्न स्टलहरू रहेका थिए । साथै नेपाल हाउसमा राखिएको नेपाली जाँतो, मोही पार्ने मदानी, आगो बालेर पकाउने नेपाली चुलो, नेपाली अन्य घरायसी सामग्रीहरू प्रयोग गर्न सकिने सामानको प्रदर्शनमा सबैको आँखा तानेको थियो ।
अस्ट्रेलियामा बस्दै आएका स्थानीय नागरिक साथै अन्य देशका दर्शकलाई समेत नेपाली संस्कृति र नेपाली स्वादको खानाले बाँधेर लामो समयसम्म राख्न सक्नु नेपाल फेस्टिभल २०२२ को महत्त्वपूर्ण उपलब्धि रहेको थियो।
गैर आवासीय नेपाली संघ अस्ट्रेलिया, नर्दन टेरिटोरी राज्य संयोजन समितिको आयोजनामा नेप्लीज एशोसिएसन अफ नर्दन टेरेटोरी, नेप्लीज कम्युनिटी एलिस स्प्रींग, डार्बिन हर्टस फुटबल क्लब लगाएत अन्य विभिन्न संघ–संस्थाको सहकार्यमा डार्बिन सहरको प्रमुख पर्यटकीय क्षेत्र वाटर फन्टमा २०२२ जुन ४ शनिवारका दिन नेपालको झल्को दिलाउने नेपाल फेस्टिभल सम्पन्न भएको थियो ।
२०२३ को जुन १० मा हुन लागेको नेपाल फेस्टिभल पनि उल्लेखनीय सहभागिताका साथ सम्पन्न हुनेमा विश्वस्त छन् संयोजक संजिव ढकाल गोर्खाली। उनले यस कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गर्नका लागि सम्पूर्ण सहयोगी मनलाई सहयोगका लागि अपिल समेत गरेका छन् ।
प्रतिक्रिया