माओवादीको आठौं महाधिवेशन : ११ समूहको छलफल सकियो, बाँकीको भोलि

माओवादीको आठौं महाधिवेशन : ११ समूहको छलफल सकियो, बाँकीको भोलि


काठमाडौं, १४ पुस । नेकपा (माओवादी केन्द्र)को काठमाडौंमा जारी आठौँ महाधिवेशनको तेस्रो दिन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदनमाथि ११ वटा समूहले आफ्नो धारणा राखेका छन् । कमलादीस्थित नेपाल प्रज्ञा भवनको सभाहलमा चलिरहेको बन्दसत्रमा बुधबार ११ वटा समूहका संयोजकले प्रतिवेदनमाथि समूहगत छलफलको निष्कर्ष सुनाउनु भएको हो ।
११ समूहले निष्कर्ष सुनाएपछि बुधबारको छलफल सकिएको माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार बिहीबार बिहान ११ बजेदेखि पुनः बाँकी समूहले समूहगत छलफलको निष्कर्ष सुनाउनुहुने छ ।
अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदन र नेता देवप्रसाद गुरुङको विधान मस्यौदा प्रस्तुत गर्नुभएको थियो । उक्त प्रतिवेदनमाथि छलफलका लागि विभिन्न २५ समूह बनाइएको छ ।
बुधबार गिरिराजमणि पोखरेलले बन्दसत्र सञ्चालन सम्बन्धी आचारसंहिता सुनाउनु भएपछि बन्दसत्रको कार्यक्रम अगाडि बढेको थियो । बुधबार समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्ने क्रममा सल्लाहकार समूहको तर्फबाट रामनारायण बिडारी, प्रदेश २ बाट सत्यनारायण भगत, आयोगको तर्फबाट टंक राई, गण्डकी प्रदेशबाट गायत्री गुरुङ, प्रदेश १ बाट अजम्बर काम्वाङ राई र हर्कबहादुर नेम्बाङ, प्रवास समन्वय समितिबाट मनऋषि धिताल, बागमती प्रदेशबाट सरल सहयात्रीले निष्कर्ष प्रस्तुत गर्नुभयो ।
यता केन्द्रीय विभागबाट गीता पनेरु, सुदूरपश्चिम प्रदेशबाट मिनबहादुर कुँवर र कर्णाली प्रदेशबाट विमला केसीले समूहको निष्कर्ष प्रस्तुत गर्नुभएको हो । महाधिवेशनको पाँचौं दिन बिहीबार बिहान ११ बजेदेखि बन्दसत्र पुनः सञ्चालन हुनेछ । थप १४ समूहले बन्दसत्रमा समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्नेछन् ।