मेलबर्न अष्ट्रेलिया ।
माछा मर्ने क्रममा बेपत्ता अस्ट्रेलियन माझीको शव गोहीको शरीरमा भेटिएको छ । साथीहरूसँग माछा मार्न गएका केभिन डर्मोडी हराउनुअघि उत्तरी क्विन्सल्यान्डको केनेडीज् बेन्डमा गत शनिवार अन्तिम पटक देखिएका थिए।
गोहीको वासस्थान क्षेत्रको रूपमा चिनिने उक्त क्षेत्रमा दुई दिनसम्म खोजी गर्दा पनि नभेटिएपछि प्रहरीले दुई वटा ठूला गोहीलाई मारेर हेर्दा शरीरभित्र मानव अवशेष भेटिएको थियो। शवको पहिचान खुल्न बाँकी रहे पनि प्रहरीले ६५ वर्षका ती व्यक्तिबारे भइरहेको खोजीको “दुखद अन्त्य” भएको बीबीसीले जनाएको छ ।
डर्मोडी अनुभवी माझी थिए। उनी केप योर्क समुदायका समेत चिर परिचित व्यक्ति हुन्। चार दशमलव १ मिटर र २।८ मिटरका दुई वटा गोहीलाई ती व्यक्ति अन्तिम समय देखिएको ठाउँबाट १,५०० मिटर टाढा गोली प्रहार गरेर मारिएको थियो।
दुई वटामध्ये एउटा गोहीको शरीरमा मात्रै मानव अवशेष भेटिए पनि दुई वटै गोही घटनामा संलग्न भएको वन्यजन्तु विज्ञहरूको दाबी छ। डर्मोडीसँग गएका अरू माझीले भने उनीमाथि आक्रमण भएको देखेका थिएनन्। तर उनीहरूले पानीमा ठूलो आवाज र उनी चिच्याइरहेको आवाज सुनेको बताएका थिए।
“म दौडेर तल जाँदा उनको कुनै सङ्केतसम्म भेटिएन। उनको झोला किनारमा थियो अरू केही पनि थिएन,” उनका साथी जोन पिटीले केप योर्क साप्ताहिकलाई भने ।
अस्ट्रेलियाको उष्णप्रदेशीय उत्तरी ध्रुवमा गोहीहरू प्रशस्तै पाइन्छन् यद्यपि तिनीहरूले गर्ने आक्रमणका घटना दुर्लभ मानिन्छन् । डर्मोडीको मृत्यु सन् १९८५ मा अभिलेख राख्न सुरु भए यताको १३ औँ हो।
प्रतिक्रिया