बालेन साहको अभिव्यक्तिप्रति सामाजिक सञ्जाल प्रयोगकर्ताको वाहवाही

बालेन साहको अभिव्यक्तिप्रति सामाजिक सञ्जाल प्रयोगकर्ताको वाहवाही


काठमाडौँ ।

आफुलाई लागेको कुरा या सन्तुष्टि असन्तुष्टि सबै सामाजिक सञ्जालमा प्रयोग गरिहाल्ने वानीका कारण चर्चामा आउने गरेका छन्, काठमाडौं महानगर पालिका प्रमुख बालेन साह । तर यही वानीले उनलाई विवादमा पनि तान्ने गरेको छ ।

पछिल्लो पटक उनी फेरि विवादमा आउने गरी एउटा पोष्ट गरेका छन् । अमर्यादित, असामाजिक र अराजक झै लाग्ने उनको यो अभिव्यक्तिले उनलाईे विवादमा तान्ने अवस्था देखिएको छ ।

मंगलबार आफ्नो सामाजिक सञ्जाल फेसबुकमा उनले लेखे ‘नयाँ–पुराना सबै नेताहरू चोर हुन’ भन्दै कसैलाई देशको माया नभएको लेखेका थिए । उनको यो पोष्टमा बुधबार दिउंँसो साढे १२ बजेसम्म १२९के लाईक, २७ के कमेन्ट र ४.४ के सेयर भइसकेको छ । अचम्म अधिकांश प्रतिक्रिया सकारात्मक छ ।

अभद्र र अशिष्ट शैलीको यो टिप्पणीले प्रमुख साहलाई ढिलोछिटो नराम्रो विवादमा तान्ने निश्चित छ । हुनत अराजक, अभद्र,हावादारी,अव्यवहारिक र अश्लिल टिप्पणीलाई स्वागत गर्ने नेपाली समाजमा उनको यो अभिव्यक्तिलाई पनि सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले स्वागत नै गरेको देखिएको छ ।

आफ्ना असन्तुष्टि सार्वजनिक गर्न रतिभर ढिला नगर्ने वानी भएका प्रमुख शाहले यस अघि पनि यस्ता धेरै अभिव्यक्तिलाई पोष्ट गरेका थिए । सरकार, सरकारी निकाय, राजनीतिक दल र तिनका नेताहरुप्रति अलिकति पनि झिंजो नमानी पोष्ट गर्ने उनको शैलीले कहिलेकाहीं विवाद पनि मच्चाउने गरेको छ ।

केही समयअघि मात्र उनले सिंहदरबारप्रति रोष प्रकट गरेका थिए। सिंहदरबारले सहयोग नगरेको भन्दै महानगरले त्यहाँको फोहोर उठाएको थिएन। यसबारे विरोध हुँदै गर्दा उनले लेखेका थिए, ‘कि काठमाडौंको हितमा काम गर्नुहोस्, कि सिंहदरबार अरू पालिकामा सार्नुहोस्। हामी काठमाडौंवासीलाई कुनै आपत्ति छैन, चाहे सिंहदरबार सार्नुहोस् कि राजधानी सार्नुस्।’

फोहोर नउठाउने निर्णय गर्नुअघि उनले सिंहदरबारमा बस्ने नेताहरूलाई सिसडोलमा डम्प गर्नुपर्ने भन्दै आपत्तिजनक अभिव्यक्ति दिएका थिए। फोहोर उठाउन बन्द गरेको सूचना दिँदै उनले लेखेका थिए, ‘आजबाट सिंहदरबारको फोहोर उठ्दैन। साँच्चिकै देश सफा गर्नुपरे, त्यहाँका नेताहरूलाई सिसडोलमा डम्प गर्नुपर्ने हुन्छ।’

त्यस्तै गत फागुनमा उनले आफूलाई प्रमुख पदबाट राजीनामा दिन लगाउन खोजेको भन्दै यो देश कहिल्यै नबन्ने लेखेका थिए । ‘मेयरको पोजिसनबाट मलाई आज राजीनामा दिन लाउन खोज्दै छन्। यो देश कहिल्यै पनि बन्दैन ।’

सरकारले आफ्नो कामप्रति कुनै साथ र सहयोग नदिएपछि उनले सरकारप्रतिका आफ्ना असन्तुष्टि सामाजिक सञ्जालमा पोष्ट गर्दै आएका छन् ।विशेषत थापाथलीमा बसोवास गर्दै आएका सुकुम्बासी हटाउने विषयलाई लिएर उनको, सरकार र राजनीतिक दल तथा तिनका नेताहरुसंगको दुरी बढ्न थालेको हो ।