सिड्नी अष्ट्रेलिया ।
अष्ट्रेलियाको सिड्नीमा ह्याकाथनको आयोजना गरिएको छ । अष्ट्रेलियामा रहेका नेपालीलाई प्रविधि क्षेत्रको पछिल्लो विकाससँग परिचित बनाउने र यसमा करिअर विकासको अवसरसँग साक्षात्कार गर्ने उदेश्यले सिड्नीमा कृत्रिम बौद्धिकताको प्रयोगसँग जोडेर ह्याकाथनको आयोजना गरिएको हो। कृत्रिम बौध्दिकता (आर्टिफिसियल ईन्टेलिजेन्स) यतिखेर प्रविधिको क्षेत्रमा सबैभन्दा बढी चर्चा र आकर्षण रहेको क्षेत्र हो।
सिड्नीको रकडेलमा सञ्चालनमा ल्याएको कोडिङ बुटक्याम्प ‘डेण्टेड कोड’ले आयोजना गरेको ह्याकाथन शनिवार र आइतबार गरी दुई दिनसम्म चलेको थियो । ह्याकाथनमा सिड्नीमा बस्ने नेपाली विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको आयोजकले जनाएको छ ।
पछिल्लो समय अष्ट्रेलियामा आइटी पढ्ने नेपाली विद्यार्थीको संख्या बढेसँगै नयाँ नयाँ अवसर र सम्भावना खोज्ने साथै परम्परागत भन्दा छुट्टै करिअर र व्यवसाय गर्नेहरूको संख्या बढेको छ। ह्याकाथनमा ‘एप्लिकेसन ट्रयाकिंग’ गर्ने सफ्टवेयरमा कृत्रिम बौद्धिकताको अहिलेको बजारको माग अनुसारको प्रयोगलाई मुख्य विषय बनाइएको थियो ।
ह्याकाथनमा सहभागीहरूले जागिरका लागी निवेदन दिनेहरूको निवेदन व्यवस्थापन गर्ने प्रणाली बनाएका थिए। जसमा विद्यार्थीहरूले बायोडाटा (रेजुम)मा रहेका जानकारीहरूबाट जागिरका लागी माग भएको अवसरसँग मेल गराउने, भर्ना प्रक्रियाका लागी उत्कृष्ट बायोडाटा तयार पारिदिने, अन्तर्वार्ताका प्रश्नावली र तिनको जबाफ समेत तयार पारिदिने एपको खाका बनाएका थिए।
अष्ट्रेलियामा पढिरहेका नेपाली विद्यार्थीहरूकै लागी उपयुक्त हुने सुविधाको याप्लिकेसन बनाउनका लागी विद्यार्थीहरूले चार वटा समूह बनाएर काम गरेका थिए।
ह्याकाथनमा रोशन लामा, ज्ञानु शेरचन, नारायण अर्याल र सुशिल बसौलाको समूह विजयी भएको थियो। ह्याकाथनमा विजयीले पाँच सय अष्ट्रेलियन डलर नगद पुरस्कार सँगै स्टार्टअपका रूपमा यसलाई अगाडी बढाउन डेण्टेडकोडबाट सहयोग पाउने छन् ।
यस्ता कार्यक्रमले आर्थिक पुरस्कार भन्दा पनि स्टार्टअप सुरु गरेर प्रविधिको क्षेत्रमा करिअर तथा व्यवसाय बढाउनमा सहयोगका साथै उत्साह मिल्ने डेण्टेड कोडका ‘बिजनेस डेभेलोप म्यानेजर मदनमणि अधिकारी बताए । अष्ट्रेलियामा विद्यार्थीका रूपमा अष्ट्रेलिया आएका धेरैले स्टार्टअप मार्फत राम्रो आर्थिक र व्यावसायिक संवृद्धि हासिल गरेकाे उनकाे भनाइ छ ।
ह्याकाथनमा निर्णायकका रूपमा रेबटेकका संस्थापक प्रेम आचार्य, बिलोङ टेक्नोलोजी सिटिओ प्रियंका ज्ञवाली, सिम्प्ली वाल स्ट्रिटका वरिष्ठ सफ्टवेयर ईंजिनियर गेशन मानन्धर, र स्वाईपजब्सका फ्रण्टईण्ड ईंजिनियर विश्वास अधिकारीले विद्यार्थीहरूले तयार पारेको प्रोजेक्टको मुल्यांकन गरेका थिए।
आगामी दिनमा अझ धेरै नेपालीहरूलाई सहयोग हुने गरेर आईटीका थप कार्यक्रमहरू ल्याउने डेण्टेड कोडले जनाएको छ। डेण्टेड कोडले अष्ट्रेलियामा आईटीको क्षेत्रमा करिअर बनाउन चाहनेहरूलाई तालिमका साथै करिअर प्लेसमेन्टमा सहयोग गर्दै आएको छ।
प्रतिक्रिया