एडिलेड अष्ट्रेलिया ।
गिरिश इभेन्ट एण्ड इन्टरटेनमेन्टले आयोजना गरेको ‘राजु लामा एण्ड सुजन चापागाँई ब्याण्ड लाइभ इन एडिलेड’ भब्यताका साथ सम्पन्न भएको छ । अष्ट्रेलियाको सांगीतिक टुरमा रहेको राजु लामाको ब्याण्ड मङ्गोलियन हार्ट र गायक सुजन चापागाँईको ब्याण्डले एडिलेडको वडभेली टाउन हल संगीतमय बनाएको हो ।
आइतबार साँझ साढे ६ बजेबाट सुरु भएको कार्यक्रममा दर्शकको उल्लेख्य उपस्थिति रहेको थियो । वडभेली टाउन हलको स्टेजबाट सुजन चापागाँई ब्याण्डले पहिलो पटक सांगीतिक प्रस्तुति दिँदा दर्शकहरू गीतसँगै नाचिरहेका देखिन्थे । गायक चापागाईँले तीन पाते, गाला पुक्क, बाफ, लजाएर, चुलबुले, घुमी घुमीलगायतका गीत गाएर दर्शकलाई भरपुर मनोरञ्जन दिलाएका थिए ।
यस्तै उक्त सांगीतिक कार्यक्रमको मुख्य आकर्षकको रूपमा रहेको थियो ब्याण्ड मङ्गोलियन हार्ट । ब्याण्डका सहकर्मी सहित वडभेली टाउन हलको स्टेजमा राजु लामा उक्लिँदा दर्शकको मुहारमा छुट्टै खसी देखिन्थ्यो । मंगोलियन हार्टका बादलपारीको देशबाट’, ‘म माया लाउँदिन’, ‘हल्ला चलेछ’, ‘तिमीलाई देखेर’, ‘पर्खाइमा’, ‘सायद तिम्रो बाटोमा’ आदि गीतहरु गुञ्जिदा हलको माहोल हर्न लायक थियो । दर्शकहरू राजु लामालाई स्वरमा साथ दिँदै झुमेका थिए ।
गायक राजु लामालाई रिदम गितारमा बबी लामा, ड्रममा सन्तोष थापा मगर, लिड गीतारमा किरन नगरकोटी, बेसमा पवन कपाली, बाँसुरीमा विनय महर्जन र मादलमा बाबुराजा महर्जनले साथ दिएका थिए । कार्यक्रममा स्थानीय कलाकार थिम्मे दोर्जे तामाङले पनि प्रस्तुति दिएका थिए ।
ग्रेस इन्टरनेस्नल एजुकेशन माइग्रेसन टाइटल स्पोन्सर रहेको उक्त सांगीतिक कार्यक्रम सफल्ता पुर्वक सम्पन्न भएको गिरिश इभेन्ट एण्ड इन्टरटेनमेन्टका निर्देशक गगन गिरीले जानकारी दिए । उनले कार्यक्रममा ७ सय बढी दर्शकको उपस्थिति रहेको बताए ।
‘राजु लामा एण्ड सुजन चापागाँई ब्यान्ड लाइभ इन एडिलेड’ नाम दिएका यो सांगीतिक कार्यक्रमलाई सफल्ता पूर्वक सम्पन्न गर्न प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहगोग गर्ने सबैलाई निर्देशक गिरिले धन्यवाद दिएका छन् । उनले नेपाली कलाकार र नेपाली गीत संगीतलाई एडिलेडवासी नेपालीहरुले देखाएको मायप्रति आभार प्रकटसमेत गरेका छन् ।
प्रतिक्रिया