लामिछानेले माफी मागेपछि रोकिएको मतदान पुनः सुरू

लामिछानेले माफी मागेपछि रोकिएको मतदान पुनः सुरू


काठमाडौँ ।

चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ११ को नयाँकिरण माविमा रोकिएको मतदान पुनः सुरू भएको छ । करिब साँढे ३ घण्टा रोकिएको मतदान सर्वदलीय बैठकपछि मतदान सुरू भएको हो ।

सर्बदलीय बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका उम्मेदवार रवि लामिछानेले निर्वाचन आचारसंहिता उलंघन गरेको ठहर गर्दै आचारसंहिता मिचेकोमा माफी माग्ने भएपछि मतदान पुनः सुरु भएको छ ।

अन्य दलहरुले लामिछाने समर्थकले मतदान केन्द्रमा घन्टी बजाउँदै हिँडेको आरोप लगाएका थिए । मतदान अधिकृत कमला न्यौपानेसहित सर्वदलीय बैठकमा उम्मेदवार लामिछानेले आचारसंहिता उल्लङ्घन गरेको ठहरसमेत गरेको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका उम्मेदवार रवि लामिछाने नयाँ किरण मावि पुग्दा समर्थकहरूले हुटिङ गरेका थिए । मतदान केन्द्रमा हुटिङ गर्न नपाउने भन्दै अन्य दलले विरोध गरेका थिए ।

नेपाली सेनासहित प्रहरीले मतदान केन्द्रमा कडा सुरक्षा व्यवस्था मिलाएको छ ।