अध्यक्ष तिमिल्सिनाको निर्देशनमा राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित

अध्यक्ष तिमिल्सिनाको निर्देशनमा राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित


काठमाडौं ।

मंगलबार दिउँसो बस्ने गरी बोलाइएको राष्ट्रिय सभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको छ ।

पूर्व निर्धारित कार्यतालिका अनुसार बैठक मंगलबार दिउँसो २ बजेर ३१ मिनेटमा बस्ने गरी बोलाईएको थियो । तर संघीय संसद सचिवालयले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित भएको जनाएको छ ।

विशेष कारणवस बैठक तोकिएको दिन नबस्ने भएकोले राष्ट्रिय सभाको नियमावली अनुसार अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको जारी सूचनामा जनाइएको छ ।

संघीय संसद सचिवालयका महासचिव भरतराज गौत्तमद्वारा जारी सूचनामा राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाको निर्देशनमा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको उल्लेख गरिएको छ ।

यसअघि चैत ३० गतेका लागि बोलाइएको बैठक पनि अध्यक्ष तिमिल्सिनाकै निर्देशनमा स्थगित भएको थियो । चैत ३० गतेका स्थगित गरिएपछि वैशाख ४ गतेका लागि बोलाईएको बैठक पनि स्थगित गरिएको थियो ।