सरकारले अरबौंको बक्यौंता नलिई स्मार्ट टेलिकमको नविकरण गर्न लाग्यो : सचेतक गिरी

सरकारले अरबौंको बक्यौंता नलिई स्मार्ट टेलिकमको नविकरण गर्न लाग्यो : सचेतक गिरी


काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक पदम गिरीले, सरकारले अरबौंको बक्यौंता रकम नलिई स्मार्ट टेलिकम प्रालिको नविकरण गर्न लागेको आरोप लगाएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा गिरीले नविरकण गर्दाखेरी लाग्ने झण्डै २३ अर्ब रुपैँया समेत नलिई स्मार्ट टेलिकम प्रालिको नविकरण गर्न लागिएको भन्दै आपत्ति जनाएका हुन् ।

एक दुई दिनभित्रै मन्त्रीपरिषदले, निर्णय गर्न लागेको आशंकागर्दै आपत्ति जनाएका हुन् । उनले सो काममा ठूलै आर्थिक चलखेल भएको हुन सक्ने जिकीर गर्दै त्यसो नगर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए । प्रमुख सचेतकले सो प्रालिले सरकारलाई विभिन्न शीर्षक अन्तरगत करिव ५ अर्व दस्तुर तिर्न बाँकी रहेको तर त्यो रकम नर्तिदै सरकारले नवीकरणको प्रक्रिया अघि बढाउन लागेको आरोप लगाए ।

उनले भने, ‘आज स्मार्ट टेलिकम प्रालिले नेपाल सरकारलाई विभिन्न शिर्षकमा ५ अर्व दस्तुर तिर्न बाँकी छ । र, नविकरण गर्दाखेरी अर्को २३ अर्व रुपैयाँ राज्यलाई तिर्नुपर्ने हुन्छ । तर आज स्मार्ट टेलिकम प्रालिले नविकरण बापतको २३ अर्व रुपैयाँ पनि नतिर्ने, विभिन्न शिर्षकको ५ अर्ब दस्तुर पनि नतिरी आफ्नो नविकरण गराउनका लागि मन्त्रीहरुको घरघरमा पुगेको, फ्यामिली क्वार्टरहरुमा पुगेको, मन्त्रालय धाएको भन्ने सुन्नमा आएको छ ।’

पूर्व स्वास्थ्यमन्त्री समेत रहेका प्रमुख सचेतक गिरीले, मन्त्री र मन्त्री क्वार्टर ध्याउने र ठूलै आर्थिक चलखेल गरेर सरकारले मुलुकको करिव २८ अर्व बजेट डुबाउन नपाउने चेतावनी दिए । उनले भने, ‘अहिले मन्त्रीपरिषदले १–२ दिनभित्रै यो शुल्क नलिईकन, त्यो दस्तुर नलिईकन यसलाई नविकरण गर्ने योजना बनिरहेको छ भन्ने कुरा आएको हुनाले सम्माननीय सभामुख महोदय, यदि मन्त्रीपरिषदबाट यस्तो प्रकारको निर्णय हुन्छ भने देखि मुलुकलाई २८–३० अर्ब रुपैया डुबाउने कामहुँदैछ । र, नीतिगत भ्रष्टाचार हुँदैछ । यसमा धेरै ठूलो चलखेल छ भन्ने कुरा मिडियामा आएको हुनाले यसतर्फ सभामुख महोदयमार्फत् सरकारको गम्भिरताका साथ ध्यानाकर्षण गराउन चाहन्छु ।