दशकपछि ‘अष्ट्रेलिया टुर’ गर्दै मंगोलियन हार्ट, ८ सहरमा सांगीतिक कार्यक्रम गर्ने

दशकपछि ‘अष्ट्रेलिया टुर’ गर्दै मंगोलियन हार्ट, ८ सहरमा सांगीतिक कार्यक्रम गर्ने


मेलबर्न अष्ट्रेलिया ।

चर्चित ब्यान्ड ‘मंगोलियन हार्ट’ले १० वर्षपछि अष्ट्रेलियामा सांगीतिक यात्रा गर्ने भएको छ । नेपालको पुरानो ब्यान्ड मंगोलियन हार्टले नेपाली टच अष्ट्रेलियाको व्यवस्थापनमा अष्ट्रेलियाका विभिन्न ८ सहरमा सांगीतिक प्रस्तुति दिने भएको हो ।

अप्रिल १० बाट म्यूजिकल टुर सुरु हुने ब्यान्डका म्यानेजर एवम् गितारिस्ट बबि लामाले बताए । ब्यान्ड आज अष्ट्रेलिया प्रस्थान गर्ने उनले जानकारी दिए । उनले भने, दश वर्षपछि अष्ट्रेलियामा यो यात्रा गर्न पाउँदा उत्साहित छौं । दर्शक–श्रोतालाई सरप्राइज दिने हिसाबले हामीले तयारी गरेका छौं ।

ब्यान्डको पहिलो सांगीतिक प्रस्तुत १० तारिखमा मेल्बर्नमा हुने टुर व्यवस्थापक नेपाली टच अष्टे«लियाका सिइओ दिपेश पुनले बताए । १३ ताखिरमा ब्रिस्बेन, १५ मा सिड्नी, १६ मा केन्बेरा, २३ मा डार्विन, २३ मा पर्थ, २९ मा होबर्टहुँदै ३० तारिखमा एडलेडमा पुगेर टुंगिने पुनले जानकारी दिए।

३० वर्षअघि सन् १९९२ मा स्थापना भएको यो ब्यान्डबाट चर्चामा आएका गायक हुन्, राजु लामा । लोक, स्लो रक, पप मेलोडी संगीतका लागि प्रिय रहेको यो ब्यान्डको रिदम गितारमा बबी लामा, ड्रममा सन्तोष थापा मगर, लिड गीतारमा किरन नगरकोटी, बेसमा पवन कपाली, बाँसुरीमा विनय महर्जन र मादलमा बाबुराजा महर्जन छन् ।

ब्यान्ड यात्रा ३० वर्ष पुगेको अवसरमा अष्ट्रेलिया टुर गर्न पाउँदा उत्साहित भएको ब्यान्डका फ्रन्ट म्यान गायक राजु लामाले बताए । ‘१० वर्षपछि अष्ट्रेलियामा मंगोलिन हार्टसहित ‘ज्यो ज्यो’ जाँदैछ,’लामाले भने, ‘ब्यान्डका पुराना र केही नयाँ गीत हामी त्यहाँ प्रस्तुत गर्नेछौं । हामी अष्ट्रेलियासँगको हाम्रो पुरानो सांगितिक सम्बन्ध फेरि नवीकरण गर्न पाउँदा एकदमै उत्साही छौं ।’

‘मंगोलियन हार्टका बादलपारीको देशबाट’, ‘म माया लाउँदिन’, ‘हल्ला चलेछ’, ‘तिमीलाई देखेर’, ‘पर्खाइमा’, ‘सायद तिम्रो बाटोमा’ आदि गीतहरु चर्चामा छन् ।

ब्यान्ड मे पहिलो साता नेपाल फर्कने छ ।