काठमाडौँ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन-२ मा मनोनयन दर्ता गराएका छन् । वैशाख १० गते हुने उपनिर्वाचनका लागि सभापति लामिछानेले मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराएका हुन् ।
नागरिकता विवादमा अदालतले उनको सांसद पद खारेज गरेपछि चितवन–२ मा उपनिर्वाचन हुन लागेको हो । लामिछाने मंसिर ४ गतेको निर्वाचनमा फराकिलो मतान्तरले विजयी भएका थिए। लामिछानेविरुद्ध तीन दलले उम्मेदवारी दिँदैछन्। कांग्रेसबाट जितनारायण श्रेष्ठ, एमालेबाट रामप्रसाद न्यौपाने र राप्रपाबाट जीवलाल पुरीले उम्मेद्वारी दिँदै छन् ।
निर्वाचन आयोगले सबै दललाई फरक फरक समय तोकिदिएको छ। लामिछानेले दिउँसो १ बजे उम्मेदवारी दर्ताका लागि समय लिए पनि तनहुँ जाने कार्यक्रम भएकाले बिहानै उम्मेदवारी दर्ता गराएका हुन् । कांग्रेसलाई दिउँसो २ बजे, एमाले ३ बजे र राप्रपालाई अपराह्न ४ बजे उम्मेदवारी दर्ताका लागि समय तोकिएको छ ।
चितवन–२ मा पहाडी क्षेत्र इच्छाकामना गाउँपालिका र कालिका नगरपालिकासहित भरतपुर महानगरपालिकाका २९ मध्ये सदरमुकाम र नारायणगढ बजार क्षेत्र र यस आसपासका १० वटा वडाहरू रहेका छन् ।
चितवन–२ मा यो पटक एक लाख २४ हजार ६९५ मतदाता कायम भएका छन् । मंसिरमाभन्दा ४८० मतदाता थपिएका छन् । मतदानका लागि ४३ मतदान स्थलमा १३८ मतदान केन्द्र रहेको चितवन जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
प्रतिक्रिया