काठमाडौँ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्को विस्तार गरेका छन्। गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका प्रधानमन्त्री दाहालले आज (शुक्रबार) सातौंपटक मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।
सत्ता साझेदार ११ दलमध्ये ९ दलको सहभागितामा मन्त्रिपरिषद्को विस्तार गरिएको हो ।
प्रधानमन्त्री दाहालले कांग्रेसको सिफारिसमा चार सांसदलाई मन्त्री नियुक्त गरेका छन् । जसमा उपसभापति पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षामन्त्री भएका छन् भने डा.प्रकाशशरण महत अर्थ, रमेश रिजाल उद्योग वाणिज्य तथा आपूर्ति र सीता गुरुङ सहरी विकासमन्त्री बनेका छन् । ८ मन्त्रालय पाएको नेपाली कांग्रेसले ४ जनाको नाम दिन बाँकी छ ।
माओवादी केन्द्रबाट उपमहासचिव शक्ति बस्नेत ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री बनेका छन् । यसअघि उपप्रधानमन्त्रीसहित भौतिक पूर्वाधार मन्त्री रहेका नारायणकाजी श्रेष्ठलाई गृह मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
सञ्चार तथा सूचना प्रविधिमा रेखा शर्मा, पर्यटन तथा नागरिक उड्डयनमा सुदन किराती र संघीय मामिला तथा समान्य प्रशासनमा अमनलाल मोदीले नै निरन्तरता पाएका छन् ।
जनता समाजवादी पार्टी (जसपा)को सिफारिसमा अशोक राई शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री भएका छन् । जसपाको भागमा दुई मन्त्रालय परेकोमा एक मन्त्रीको नाम दिन बाँकी छ । त्यस्तै नेकपा एकीकृत समाजवादी (नेकपा एस) बाट वेदुराम भुसालले कृषिमन्त्रीको जिम्मेवारी पाएका छन् भने प्रकाश ज्वालालाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
नेपाल समाजवादी पार्टी (नेसपा) बाट महिन्द्र राय यादव महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री बनेका छन् । नागरिक उन्मुक्ति पार्टी (नाउपा) बाट रन्जिता श्रेष्ठ चौधरीले भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी पाएकी छन्। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट शरतसिंह भण्डारी श्रममन्त्री बनेका छन् ।
सातौं पटक मन्त्रिपरिषद्को विस्तार गरेका प्रधानमन्मन्त्री प्रचण्डले पाँच मन्त्रालयमा मन्त्री नियुक्त गर्न सकेका छैनन् ।
प्रतिक्रिया