कांग्रेस सभापति छान्न दोस्रो चरणको मतदान सम्पन्न, राति नै गनिने, देउवा कि कोइराला ?

कांग्रेस सभापति छान्न दोस्रो चरणको मतदान सम्पन्न, राति नै गनिने, देउवा कि कोइराला ?


काठमाडौं, २८ मंसिर । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सभापति पदका लागि भएको दोस्रो चरणको मतदान सकिएको छ । दिउँसो साढे ३ बजेपछि सुरु भएको मतदान राति साढे ९ बजे सम्पन्न भएको हो । पहिलो चरणमा भएको मतदानमा कसैले पनि ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्न नसकेपछि दोस्रो चरणको मतदान गरिएको हो ।
महाधिवेशनमा कूल चार हजार ७४३ मतदातामध्ये ४ हजार ५ सय ६२ जनाले मतदान गरेका छन् । सोमबारको मतदानमा भने ४ हजार ६ सय ७९ प्रतिनिधिले मतदान गरेका थिए । मतदानमा कूल ७६ मत बदर भएको थियो । पहिलो चरणको निर्वाचनमा सभापति पदका उम्मेदवार कसैले पनि ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि सबैभन्दा बढी मत ल्याउने शेरबहादुर देउवा र डा. शेखर कोइरालाबीच दोस्रो चरणको निर्वाचनका लागि प्रतिस्पर्धा भएको हो ।
पहिलो चरणमा भएको मतदानमा देउवाले २ हजार २५८ र उनका निकटतम् प्रतिद्वन्द्वी कोइरालाले १ हजार ७०२ मत प्राप्त गरेका थिए । सभापतिका अन्य उम्मेदवार प्रकाशमान सिंहले ३७१, विमलेन्द्र निधिले २५० र कल्याण गुरुङले २२ मत प्राप्त गरेका थिए । कांग्रेस विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नु अनिवार्य हुन्छ ।
मंगलबार भएको दोस्रो चरणको मतदानअघि नै सभापतिका उम्मेदवारहरू प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले देउवालाई समर्थन गर्ने घोषणा गरिसकेका थिए । मंगलबार राति नै राष्ट्रिय सभागृहमा मतगणना गर्ने बताइएको छ । पदाधिकारी र सदस्यहरूको मतगणना भने सभापतिको मतगणना सकिएपछि सानेपामा गरिनेछ ।