निर्यातमा उत्साहजनक वृद्धि, साउन र भदौमा ४४ अर्बको निर्यात

निर्यातमा उत्साहजनक वृद्धि, साउन र भदौमा ४४ अर्बको निर्यात


काठमाडौं, १० असोज । चालु आर्थिक वर्ष २०७८/७९ को शुरुवातबाटै वस्तु निर्यातमा उत्साहजनक वृद्धि देखिएको छ । चालु आर्थिक वर्षको पहिलो दुई महिना (साउन–भदौ)मा नेपालले कुल ४४ अर्ब रुपैयाँ बराबरको निर्यात गरिसकेको छ । निर्यात अघिल्लो आर्थिक वर्ष २०७७÷७८ को पहिलो दुई महिनामा मात्र २० अर्ब ४४ करोड रुपैयाँ बराबरको भएको थियो ।

यो वर्ष निर्यातमा ११५.४३ प्रतिशतको वृद्धिदर देखिएको छ । निर्यातमा ठूलो हिस्सा भटमास र पाम तेलको हिस्सा बढी छ । यस्तो तेलको तेस्रो मुलुकबाट कच्चा पदार्थ आयात भई भारतमा तेल निर्यात हुने गरेको छ । जसले नेपालको निर्यात बजारको आंकडालाई उत्साहित बनाइरहेको छ । भन्सार विभागका अनुसार निर्यातमा वृद्धि भएसँगै वैदेशिक व्यापारमा निर्यातको हिस्सामा समेत १९.७४ प्रतिशतको वृद्धि भएको छ । नेपालको निर्यातमा १२.२८ प्रतिशत निर्यातले बेहोर्दा आयातको भने ८७.७२ प्रतिशत हिस्सा रहेको छ ।

चाल आवमा निर्यातसँगै आयातमा समेत उल्लेख वृद्धि भएको पाइएको छ । दुई महिनामा ३ खर्ब १४ अर्ब ५१ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ७५.८६ प्रतिशत हो ।

आर्थिक वर्ष २०७७÷७८ मा मात्र १ खर्ब ७८ अर्ब ८४ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो । भन्सार विभागका अनुसार आयात र निर्यात दुबैमा उच्च वृद्धि भएसँगै कुल वैदेशिक व्यापार समेत बढेको छ ।

दुई महिनामा कुल वैदेशिक व्यापार ३ खर्ब ५८ अर्ब ५५ करोड रुपैयाँ बराबरको भइसकेको छ । यो गत आवको तुलनामा ७९.९२ प्रतिशत बढी हो । गत आवको यसै अवधिमा १ खर्ब ९९ अर्ब २८ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको तथ्यांक रहेको छ ।

दुई महिनाको अवधिमा नेपालले ३७ अर्ब ९५ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात गरेको छ । यस अवधिमा वनस्पति तेलजन्य वस्तुको आयात २६ अर्ब ४७ करोड बराबरको देखिएको छ । आइरन र स्टीलको आयात २८ अर्ब ५५ करोड बराबर भएको छ । ५ अर्ब बराबरको तरकारी आयात भएको छ । नेपालले यस अवधिमा १२२ भन्दा बढी मुलुकमा वैदेशिक व्यापार गरेको छ । नेपालले २४ वटा भन्सार विन्दुबाट वैदेशिक व्यापार गरेको छ ।