नारे किंग्सलाई हराउँदै न्याभ कपको उपाधी फारवेस्ट हन्टर्सले जित्यो

नारे किंग्सलाई हराउँदै न्याभ कपको उपाधी फारवेस्ट हन्टर्सले जित्यो


मेलबर्न अष्ट्रेलिया ।

नेप्लिज एसोसिएसन अफ भिक्टोरियाको आयोजनामा सञ्चालन भएको १८ औ न्याभ कपको उपाधी फारवेस्ट हन्टर्सले जितेको छ । आइतबार प्रेस्टनस्थित टि डब्लु पार्कमा भएको फाइनल खेलमा नारे किङ्सलाई ३ विकेटले पराजित गर्दै फारवेस्ट हन्टर्सले उपाघी चुमेको हो । विजेता फारवेस्ट हन्टर्सले ३ हजार र उपविजेता नारे किङ्सले १ हजार अस्ट्रेलियन डलर नगद र मेडल पुरस्कार पाए ।

नारे किङ्सले दिएको १२८ रनको लक्ष्य पछ्याएको फारवेस्ट हन्टर्सले ७ विकेटको क्षतिमा लक्ष्य भेटायो । जसका लागि मोहन विष्टले ४५ रन, निशान्त सिंह ३, नवीन भट्ट १, वासु गिरी १० र कप्तान केशव पन्त ५ रन र दीपेश विष्ट ३४ रन सरोज क्षेत्री ११ र प्रदीप कुँवरले ८ रनको योगदान गरे । ओपनर आर्यन विष्ट भने शून्यमा आउट भए ।

नारे किंग्सबाट कप्तान किरण कँडेलले ३ विकेट लिए भने अविनाश पौडेल, राजन कँडेल र सुसन सापकोटाले १–१ विकेट लिए ।

यसअघि ब्याटिङ गरेको नारे किंग्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाई १ सय २७ रन बनाएको थियो। नारे किंग्सका लागि अविनाश ४ र हरि सापकोटा ६ रन बनाए । दिपेन रायमाझी र शिशिर सापकोटाले ८३ रनको साझेदारी गरे । सन्देश कँडेल ४ बलमा ६ रन बनाई अविजित रहे । फार वेस्टका उदय सापकोटा र विजय गिरीले १–१ विकेट लिए ।

म्याक्सिम्याक एजुकेसन एन्ड भिजा सर्भिसेजको मुख्य प्रायोजन र ब्राइटन कलेजको सहप्रायोजनमा भएको प्रतियोगिता १० साता चलेको थियो । प्रतियोगितामा १२ नेपाली समुदाका टोली सहभागी थिए ।

माभन क्रिकेट क्लबका संजोग दाहालले उत्कृष्ट ब्याटर, फिल्डरसहित प्लेयर अफ द सिरिजको उपाधि जिते । माभनकै अभिनव शाहले उत्कृष्ट बलरको उपाधि पाए । एक्सपर्ट सगरमाथाका सुदीप न्यौपाने उत्कृष्ट विकेटकिपर बने । फेयर प्लेको उपाधि ग्रेस गोर्खालीले पायो ।

विजेता खेलाडीलाई नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का, न्याभका अध्यक्ष प्रेमराज उप्रेती, खेलकुद संयोजक दीप चन्द, म्याक्सिम्याक्सका निर्देशक शंकर धरेल, भिक्टोरियन नेप्लिज क्रिकेट एसोसिएसन (भीएनसीए) का अध्यक्ष सुजित बस्नेतलगायतले पुरस्कार वितरण गरे ।

न्याभ कपको सद्भावना दूतसमेत रहेका पारस खड्कालाई अभिनन्दन गर्ने कार्यक्रम समेत रहेको छ ।