काठमाडौँ ।
युरो–२०२४ छनोट प्रतियोगितामा पोर्चुगलले लक्जमबर्गलाई ६–० ले हराएको छ । जुन जीतमा क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेका छन् । कतार विश्वकपपछि पोचुगलको यो लगातार दोस्रो जित हो । यसअघि पोर्चुगलले छनोट प्रतियोगितामा लिचेस्टाइनलाई ४–० ले हराएको थियो ।
पहिलो हाफमा रोनाल्डोले नवौँ मिनेटमा गरेको गोलबाट पोर्चुगलले अग्रता लिएको थियो भने १५औँ मिनेटमा जोओ फेलिक्सले पोर्चुगलको अग्रतालाई दोब्बर बनाइदिए ।
पोर्चुगलको गोलको बर्षा गर्ने क्रम रोकिएन, पुनः १८औँ मिनेटमा बर्नार्डो सिल्भाले तेस्रो गोल गरे भने ३१औँ मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गरेर पहिलो हाफमा नै खेल ४–० को स्थीतिमा पुग्यो ।
उता, दोस्र्रो हाफको ७७औँ मिनेटमा ओटाभियोले थप गोल गरे भने त्यसको १० मिनेट पछि अर्थात ८९औँ मिनेटमा राफेल लियोले अर्को गोल थपेर अन्ततः खेल ६–० को अवस्थामा रहन पुग्यो ।
जितसँगै छनोट प्रतियोगिताको समूह ‘जे’ मा पोर्चुगल शीर्ष स्थानमा छ । पोर्चुगलले ६ अंक जोडेको छ भने एक अंक जोडेको लक्जमबर्ग पाँचौँस्थानमा रहेको छ ।
प्रतिक्रिया