सिड्नी, अष्ट्रेलिया ।
अष्ट्रेलियाको न्यूसाउथवेल्स राज्यमा लेबर पार्टीले जीतको झण्डा फहराएको छ । १२ वर्षपछि सत्तामा लेबर आउँदै गर्दा यसको नेतृत्व क्रिस मिन्सले गर्दैछन् । शनिबार भएको निर्वाचनको प्रारम्भिक नतिजाले लेबर पार्टीले कम्तिमा ४७ सिट जित्ने देखाएको छ । ९३ सदस्यीय तल्लो सदनमा यो जीतसँगै लेबरलाई राज्यमा नयाँ सुरुवातको ढोका खुलेको हो ।
शनिबार राति आफ्ना समर्थकहरुलाई सम्बोधन गर्दै लेबर नेता मिन्सले मतदातालाई धन्यवाद दिएका छन् । उता लिबरल पार्टीका नेता एव्ं सत्ता बहिर्गमनमा रहेका प्रिमियर डोमेनिक पेरोटेले सौहाद्र्रपूर्ण रुपमा चुनाव सम्पन्न भएकोमा खुशी व्यक्त गरे । उनले विजेतालाई धन्यवाद दिँदै उनको नेतृत्वमा न्यूसाउथवेल्समा अझै प्रगति हुने विचार राखेका छन् ।
उता लेबर पार्टीको जीतसँगै लिबरलका नेताहले आफुहरुबीचमै आक्षेप लगाउने क्रम भने सुरु भएको छ । वर्तमान यातायात मन्त्री डेभिड ईलोटले नतिजा अप्रत्यासित भन्दै प्रिमियर पेरोटेको वरिपरि रहेका स्वार्थी झुण्डका कारण यस्तो नतिजा आएको प्रतिक्रिया दिएका छन् । यस्तै पूर्वप्रिमियर माईकल बेयर्डले पेरोटेले हात बाँधेर युद्ध गर्नुपरेको भनी चित्रण गरेका छन् ।
प्रतिक्रिया