युवा र खेलाडीलाई सबैभन्दा बढी महत्व दिएको छु : प्रधानमन्त्री प्रचण्ड

युवा र खेलाडीलाई सबैभन्दा बढी महत्व दिएको छु : प्रधानमन्त्री प्रचण्ड


काठमाडौँ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले आफ्नो नेतृत्वको सरकारले युवा र खेलाडीहरूलाई सबैभन्दा बढी महत्व दिएको जनाएका छन्।

शनिबार भरतपुरमा नेपाल कराते महासंघको ७ औँ प्रशिक्षक प्रशिक्षण तथा मास्टर्स् मिट्स् प्रतियोगिताको समारोहलाई बालुवाटारबाट भर्चुअल सम्बोधन गर्दै प्रधानमन्त्रीले खेलाडीलाई हौसला बढाउनेदेखि प्रतियोगितामा विजयी खेलाडीहरूलाई पुरस्कृत गर्ने, खेल क्षेत्रका कार्यक्रमहरू उपस्थित भएर सम्बोधन गर्ने गरेको जनाएका हुन ।

प्रधानमन्त्रीले भने, ‘मैले आफ्नो तेस्रो कार्यकालमा खेल क्षेत्रलाई सबैभन्दा बढी महत्व दिएको छु । तीन महिनाको अवधिमा मैदानमै पुगेर खेलाडीलाई हौसला बढाउनेदेखि प्रतियोगितामा विजयी खेलाडीहरूलाई पुरस्कृत गर्ने, खेल क्षेत्रका कार्यक्रमहरू उपस्थित भएर सम्बोधन गर्ने र खेल क्षेत्रसँग सम्बन्धित पदाधिकारीहरूलाई बोलाएर खेल क्षेत्रको विकास, खेलाडीहरूको भविष्य निर्माण र भविष्य खेल क्षेत्रमा देशको उचाइ कसरी बढाउन सकिन्छ भन्नेबारे निरन्तर सम्वाद र अन्तरक्रिया गर्दै आइरहेको छु । यसबाट नै तपाईहरूलाई प्रष्ट हुन्छ– वर्तमान सरकार र यसको नेतृत्व युवाहरूको भविष्य निर्माणमा सबैभन्दा प्रतिवद्ध र इमानदार छ ।’