न्याभ कप क्रिकेटमा नेपाली टिम पनि सहभागी हुन सकुन् : पारस खड्का, फाइनल आईतबार

न्याभ कप क्रिकेटमा नेपाली टिम पनि सहभागी हुन सकुन् : पारस खड्का, फाइनल आईतबार


मेलबर्न, अष्ट्रेलिया ।

नेप्लीज एशोसिएसन अफ भिक्टोरियाले आयोजना गरेको म्याक्सीम्याक्स १८ औं न्याभ कप क्रिकेट प्रतियोगिताको फाईनल आईतबार २६ मार्चमा आयोजना हुने भएको छ । मेलबर्नको टीडब्लू ब्लेक पार्कमा भइरहेको फाईनलमा नारे किंग्स र फारवेष्ट हन्टर्स क्रिकेट क्लबको टोलीबीच प्रतिस्पर्धा हुनेछ ।

मुख्य प्रायोजक म्याक्सीम्याक्स एजुकेशन एण्ड भिसा सर्भिसेजको कार्यालयमा भएको पत्रकार सम्मेलनमा नेपाली राष्ट्रिय टोलीका पूर्वक्याप्टेन पारस खड्काले फाईनल खेलमा सहभागी हुन मेलबर्नवासीहरुलाई अनुरोध गरेका छन् । पत्रकार सम्मेलनमा बोल्दै खड्काले न्याभ कप प्रतियोगितामा आगामी दिनमा नेपालबाट पनि क्लबहरु सहभागी भएर क्रिकेट खेल्ने वातावरण बनोस् भन्ने कामना गरेका थिए । न्याभ कपमा सहभागी भएका सबैलाई धन्यवाद दिँद उनले आगामी दिनमा क्रिकेटरहरुको लागि राम्रो प्लेटफर्म बन्ने आशा समेत व्यक्त गरे ।

फाईनलमा पुगेका दुबै टिमका क्याप्टेनहरु किरण कँडेल र केशव पन्तले आफ्नो टिमले फाईनल जित्नेगरी तयारी गरेको र उत्कृष्ट प्रदर्शन गर्ने प्रयास गर्ने बताए ।

उक्त अवसरमा बोल्दै म्याक्सीम्याक्स एजुकेशन एण्ड भिसा सर्भिसेजका निर्देशक शंकर धरेलले न्याभ कपमा मेलबर्नबाट मात्रै १२ वटा टिम सहभागी हुनु गौरवको विषय भएको बताए । उनले नेपाली राष्ट्रिय टिमका पूर्वक्याप्टेन पारस खड्का आफैं फाईनलमा सहभागी हुन आउनु पनि अर्को महत्वपूर्ण उपलब्धी भएको उनको भनाई थियो ।

पत्रकार सम्मेलनको सञ्चालन गर्दे न्याभका अध्यक्ष प्रेमराज उप्रेतिले क्रिकेटर खड्कालाई स्वागत गरेका थिए ।