गण्डकीमा एमाले नेतृत्वको सरकार संकटमा

गण्डकीमा एमाले नेतृत्वको सरकार संकटमा


काठमाडौँ । नेकपा एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार संकटमा परेको छ । नेकपा माओवादी (केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएपछि मुख्यमन्त्री खगराज अधिकारीको पद धरापमा परेको हो ।

सरकारलाई दिएको समर्थन फिर्ता गर्न आज नेकपा माओवादी गण्डकी संसदीय दलको बैठक बोलाइएको छ ।

सरकारलाई दिएको समर्थन फिर्ता लिन ११ बजे संसदीय दलको बैठक डाकिएको नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता एवं भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री हरिबहादुर चुमानले जानकारी दिए ।

सरकारलाई दिएको समर्थन फिर्ता लिएर अघि बढ्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हिजो निर्देशन दिएका थिए । माओवादीले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री खगराज अधिकारीले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने हुन्छ ।

गण्डकी प्रदेश सभामा ८ सिटसहित तेस्रो दल माओवादी केन्द्र २ मन्त्रीसहित सरकारमा सहभागी छ ।

२७ सिटसहित गण्डकीमा कांग्रेस सबैभन्दा ठूलो दल छ । २२ सिटसहित एमाले दोस्रो, ८ सिटसहित माओवादी तेस्रो र त्यसपछि २ सिट जितेको राप्रपा छ । मनाङबाट स्वतन्त्र सांसद बनेका राजीव गुरुङ दीपक मनाङे प्रवेश गरेपछि नेकपा एकीकृत समाजवादीको पनि गण्डकीमा प्रतिनिधित्व छ ।

६० प्रदेश सभा सदस्य रहेको गण्डकीमा सरकार बनाउन कांग्रेस–माओवादीको सहज बहुमत पुग्छ ।