टच फुटी वर्ल्डकपमा सहभागी हुने अष्ट्रेलियन नेपाली टिमको जर्सी सार्वजनिक

टच फुटी वर्ल्डकपमा सहभागी हुने अष्ट्रेलियन नेपाली टिमको जर्सी सार्वजनिक


आगामी मार्च २६ तारिख आयोजना हुन लागेको टच फुटी वर्ल्डकपमा सहभागी हुन जाने अष्ट्रेलियन नेपाली टिमको जर्सी आज सार्वजनिक गरिएको छ । मेलबर्नको ग्लेनरोयमा रहेको ग्रेस ईन्टरनेशनलको शाखामा आयोजना गरिएको विशेष कार्यक्रममा अघिल्लो पटकको डिभिजन २ विजेता नेपाली टोलीको जर्सी सार्वजनिक गरिएको हो । यस पटक नेपालले डिभिजन १ बाट खेल्नेछ ।
कार्यक्रममा प्लाटिनम प्रायोजक ग्रेस ईन्टरनेशनलका सिईओ रामचन्द्र पौडेल र न्याभका अध्यक्ष प्रेमराज उप्रेतिले खेलाडीहरुलाई जर्सी प्रदान गरेका थिए । यसअघि अध्यक्ष उप्रेति, सिईओ पौडेलसहित जनसम्पर्क समितिका अध्यक्ष विनित शर्मा, म्याक्सीम्याक्स एजुकेशनका निर्देशक शंकर धरेल, कान्तिपुर दैनिकका खेलप्रमुख विनोद पाण्डे, नेपालका राष्ट्रिय क्रिकेट खेलाडी यशवन्त सुवेदी, न्याभ उपाध्यक्ष ललिसा थापा र खेल संयोजक दिप चन्दले संयुक्त रुपमा जर्सी सार्वजनिक गरेका थिए ।

को को छन् टिममा ?

नेपाली समूदायको तर्फबाट सहभागी हुने टिमको क्याप्टेनमा रोशन कँडेल रहेका छन् भने भाईसक्याप्टेनमा जेम्स थापा छन् । यस्तै खेलाडीहरुमा भिसिस दुरा, आदर्श पौडेल, रन्जन कँडेल, निश्चल अर्याल, प्रेरणा मल्ल, हिरामति मगर, प्रज्ञा दाहाल, सुरज श्रेष्ठ, प्रमोद घिमिरे र स्वजन कार्की छन् । यस्तै टिम प्रशिक्षकमा ससेन्द्र कसी, म्यानेजरमा बबी लामा र संयोजकका रुपमा दिप चन्द सहभागी हुँदैछन् ।

एकैदिनमा सम्पन्न हुने प्रतियोगितामा ९ जना खेलाडी समूहमा हुनेछन् । एउटा टिमबाट अधिकतम १५ खेलाडी सहभागी हुनसक्ने व्यवस्था छ । अष्ट्रेलियामा रहेका विभिन्न समूदायका १२ वटा टिम यसमा सहभागी हुँदैछन् । साउथ यारामा रहेको फकनर पार्कमामा हुने प्रतियोगितामा हरेक टिमले कम्तिमा तीन खेल खेल्नेछन् र यीमध्ये सबैभन्दा बढी स्कोर गर्न सफल दुई टिमबीच फाईनल प्रतिस्पर्धा गराइनेछ । नेपाल यस पटक डिभिजन एबाट स्पर्धामा उत्रिएको छ । प्रतियोगिताको आयोजना अष्ट्रेलियन फुटबल ईन्टरनेशनलले गरेको हो ।