मेलबर्न अष्ट्रेलिया ।
नेपालको पर्यटन प्रवर्द्धन गर्न उद्देश्यसहित अष्ट्रेलियाको एडिलेड शहरमा आयोजना गरिएको नेपाल फेस्टिभलको सम्पूर्ण तयारी पुरा भएको छ । गैर आवासीय नेपाली संघ (एनआरएनए) साउथ अष्ट्रेलिया राज्य समितिको आयोजनामा भोलि (१८ मार्च ) शनिबारका दिन हुने नेपाल फेस्टिभलको तयारी पुरा भएको एनआरएनए साउथ अष्ट्रेलिया संयोजक रेनुका लामाले जानकारी दिइन् ।
फेस्टिभलमा ४० बटा स्टल हुनेछन्। जसमा १० वटा ठूला स्टल हुने छन्। मुख्य आर्कषणका रुपमा नेपालको विविधता झल्कने नेपाल हाउसको निर्माण गरिएको छ । जसमा नेपालका परम्परागत ढिकी जातो, भेषभुषा, हिमाल दृष्य समेटिएका फोटोहरु, त्यसै गरि धरहरा, पशुपति, स्वयंम्बु समेत राखिएको छ । साथै कुमारीको रथ गुठी एसएले र भेषभुषाहरु तमु घीलगायत अवलोकनका लागि राखिएको छ ।
महोत्सवमा प्रिमियर पिटर मालिनौस्कस, पर्यटन तथा बहुसांस्कृतिक मन्त्री जोबेटीशन, माथिल्लो सदन लेजेस्लेटिभ काउन्सिलको विपक्षी दलको उपनेता जिङ ली, संसद सदस्यहरु, अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशनाथ पोखरेलको उपस्थिति रहने संयोजक लामाले बताइन्। नेपाल फेस्टिभल एडिलेडमा सहभागि हुने अष्ट्रेलियाका विभिन्न राज्यबाट केही अतिथिहरु एडिलेड पुगिसकेका छन् भने केही आउने क्रम जारी रहेको छ ।
औपचारिक कार्यक्रमपछि कलाकारहरु प्रकाश सपुत, प्रिति आले, टिका प्रसाई, देबेन्द्र बब्लु लगायतले सांगीतिक प्रस्तुति दिने छन्।
प्रतिक्रिया