राष्ट्रपतिबाट बजेट प्रमाणीकरण, सरकारलाई खर्च गर्ने बाटो खुल्यो

राष्ट्रपतिबाट बजेट प्रमाणीकरण, सरकारलाई खर्च गर्ने बाटो खुल्यो


काठमाडौं, ७ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले चालु आर्थिक वर्षको बजेटसम्बन्धी विधेयक बिहीबार प्रमाणीकरण गर्नुभएको छ । योसँगै सरकारलाई खर्च गर्न बाटो खुलेको छ । बजेट पारित नहुँदा गत भदौ ३० गतेदेखि सरकारी कोषको रकम खर्च गर्न नमिल्ने भएको थियो । प्रतिनिधिसभा र राष्ट्रियसभामा नेकपा एमालेको नाराबाजीबीच विनियोजन विधेयक पारित भएपछि बिहीबार प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेश गरिएको थियो ।

बजेट पारित नहुँदा सरकारले ९ दिन खर्च गर्न पाएको थिएन । विनियोजन विधेयक अब ऐन बनेको छ । यो बिहीबार नै राजपत्रमा प्रकाशित भएको छ र बजेट कार्यान्वयन सुरु भएको छ । गत जेठ १५ गते तत्कालिन अर्थमन्त्री विष्णु पौडेलले अध्यादेशमार्फत ल्याएको बजेटलाई वर्तमान अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकमार्फत संशोधन गर्नुभएको थियो । उहाँले आर्थिक वर्ष २०७८÷०७९ का लागि १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको थियो । नयाँ बजेटमा चालुतर्फ ६ खर्ब ७७ अर्ब ९९ करोड र पुँजीगततर्फ ३ खर्ब ७८ अर्ब १० करोड विनियोजन गरिएको छ । यस वर्ष वित्तीय व्यवस्थामा १ खर्ब ८९ अर्ब ४४ करोड र वित्तीय हस्तान्तरणमा भने ३ खर्ब ८७ अर्ब ३० करोड रुपैयाँ खर्च गर्ने लक्ष्य राखिएको छ ।