काठमाडौँ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ६ चैतमा विश्वासको मत लिँदै छन् । शुक्रबार उपराष्ट्रपतिको निर्वाचन सम्पन्न भएपछि विश्वासको मत लिएर मन्त्रिपरिषद् विस्तार गर्ने योजनामा प्रधानमन्त्री प्रचण्ड रहेका छन् ।
प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने पत्र संसद् सचिवालयमा बिहीबार दर्ता भएको छ । संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले विश्वासको मत लिने प्रस्ताव राख्न अनुरोधसहितको सो पत्र दर्ता भएको हो ।
१० पुसमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले २६ पुसमा विश्वासको मत लिएका थिए । त्यतिबेला उनलाई दुई सांसदबाहेक सबै दलका २ सय ६८ मत पाएका थिए । एमालेसहितका दलको गठबन्धनबाट प्रधानमन्त्री नियुक्त भएका प्रचण्ड नेतृत्वको सरकारलाई एमाले समर्थन फिर्ता लिएपछि उनले पुनः विश्वासको मत लिन लागेका हुन् ।
१० पुसमा बनेको एमाले, माओवादी केन्द्र, रास्वपा, राप्रपा, जसपा गठबन्धन राष्ट्रपति निर्वाचनअघि फुटेर नयाँ गठबन्धन बनेको छ । अहिले प्रचण्ड नेतृत्वको सरकारलाई विभिन्न १० दलको समर्थन रहेको छ ।
अहिलेको सत्तारूढ गठबन्धनमा रहेका माओवादी केन्द्रसँग ३२, कांग्रेससँग ८९, जसपासँग १२, एकीकृत समाजवादीसँग १०, लोसपासँग ४, नाउपा ४, जनमत पार्टीसँग ६, आमजनता पार्टीसँग १, राष्ट्रिय जनमोर्चासँग १ र नेपाल समाजवादी पार्टीसँग १ सांसद संख्या रहेको समाचार आजको राजधानी दैनिकले लखेको छ ।
स्वतन्त्र सांसद अमरेशकुमार सिंहले समेत विश्वासको मत दिँदै छन् । १ सय ६१ सांसदले प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिनेछन् । सरकार निर्माणका लागि १ सय ३८ सांसदको मत आवश्यक पर्छ ।
प्रतिक्रिया