क्विन्सल्याण्ड नेपाली सांस्कृतिक केन्द्र बनाउने कार्यले पायो तीव्रता

क्विन्सल्याण्ड नेपाली सांस्कृतिक केन्द्र बनाउने कार्यले पायो तीव्रता


ब्रिस्वेन अष्ट्रेलिया ।

क्विन्सल्याण्ड नेपाली सांस्कृतिक केन्द्र (क्वीएनसीसी) बनाउने कार्यलाई तीव्रताका साथ अगाडी बढाइने भएको छ । आइतबार क्विन्सल्याण्ड भएको एक छलफलमा भाग लिने अधिकांश वक्ताले सांस्कृतिक केन्द्र बनाउने कार्यलाई तत्काल अगाडी बढाउनु पर्नेमा जोड दिएका छन् ।

क्वीएनसीसीका अध्यक्ष केशव शर्माले सांस्कृतिक केन्द्रका लागि अहिलेसम्म चार लाख अष्ट्रेलियन डलर संकलन भएको जानकारी दिए । उनले सो रकम १४५ जनाको सदस्यता शल्कबाट संकलन भएको बताए । उनले संकलित रकम सांस्कृतिक केन्द्रको निर्माणमा अपुग हुने भन्दै थप रकम जुटाउन लाग्नुपर्ने बताए । उनले सांस्कृतिक केन्द्र निर्माणका लागि जग्गा हेरिसकेको र सबैको सल्लाह अनुसार उपयुक्त लागेको जग्गा खरिद प्रक्रिया तत्काल सुरु गर्ने बताए । उनले सामुहिक प्रयासले मात्रै क्विन्सल्याण्डमा नेपाली सांस्कृतिक केन्द्रको स्थापना सम्भब हुने भन्दै यो महाअभियानमा जोडिन सबै क्विन्सल्याण्डवासी नेपालीहरुलाई आग्रह गरेका छन्।

कार्यक्रममा एनआरएन सचिव अभिमानसिंह बस्नेत, नागरिक अगुवा राजन कोइराला, नारायण पन्थी, दिल बस्नेत, एनआरएन अष्ट्रेलियाका प्रवक्ता उमेश खड्का, क्वीएनसीसीका सचिव नारायण सुवेदी, प्रमोद पोखरेल, मोहोन शर्मा, डा. अनिल शर्मा, नेपाली सोसाइटी अफ क्वीन्सलाण्डका अध्यक्ष देवराज पौडेल नागरिक अगुवा गोविन्द बराल, किरण खनाल, क्वीएनसीसीका कोषाध्यक्ष सरोज क्षेत्रीलगायतको उपस्थिति रहेको थियो। उक्त छलफलमा सहभागी सबैले नेपाली सांस्कृतिक केन्द्र बनाउने कार्यलाई तीव्रता दिनुपर्ने भन्दै व्यापक प्रचार प्रसार गर्नुपर्नमा जोड दिए। उनीहरुले यो कार्यालाई मुर्तरुप दिन आ–आफ्नो तर्फबाट गर्नुपर्ने कार्य गर्न तयार रहेको प्रतिवद्धतासमेत व्यक्त गरे।

आइतबारको छलफलमा क्विन्सल्याण्डमा नेपाली सांस्कृतिक केन्द्र बनाउन आवश्यक पर्ने रकम कसरी संकलन गर्ने सदस्यता बृद्धि कसरी गर्ने भन्नेबारेमा गम्भीर छलफल भएको छ। आवश्वक रकम संकलन र सदस्यता बढाउनका लागि एक समितिको पनि गठन गरिएको छ । आर्थिक तथा सदस्यता बृद्धि गर्ने उदेश्यले गठन गरिएको समितिमा राजन कोइराला, अभिमानसिंह बस्नेत र देवकला श्री रहेका छन् । उक्त समितिलाई सदस्यता बृद्धि गर्ने र ब्रिस्वेनमा रहेका नेपाली व्यवसायीबाट पनि रकम संकलनको लागि आग्रह गर्ने जिम्मेवारी दिइएको छ।

सांस्कृतिक केन्द्रको सदस्यता शुल्क एकल सदस्यको लागी १००० डलर र परिवारको लागि १५०० डलर रहेको छ । आजको छलफलमा भविश्यमा बन्ने क्विन्सल्याण्ड नेपाली सांस्कृतिक केन्द्रको तस्बिर पनि सार्वजनिक गरिएको छ।