रुपेशको उपचारमा जुट्यो एनआरएनए न्यु साउथ वेल्स, आर्थिक सहयोगका लागि गो-फण्डमी संचालन

रुपेशको उपचारमा जुट्यो एनआरएनए न्यु साउथ वेल्स, आर्थिक सहयोगका लागि गो-फण्डमी संचालन


मेलबर्न अष्ट्रेलिया । गैरआवसीय नेपाली संघ (एनआरएनए) न्यु साउथ वेल्स अष्ट्रेलिया क्षयरोग (टिबी)रोगबाट पीडित रुपेश दोङको उपचारमा जुटेको छ । विगत आठ महिनादेखि टिबी रोगबाट थलिएका २२ वर्षीय रुपेश दोङको उपचारमा एनआरएन न्यु साउथ वेल्स सक्रिय रूपमा लागेको हो । 

फोक्सोमा टिबीको संक्रमण देखिएपछि  रुपेशलाई ८ महिना अस्पतालमै राखेर उपचार गरिएको थियो । फोक्सोको आधा भन्दा बढी भाग टिबीले खाइसकेको अवस्थामा उनको गम्भीर रूपमा उपचार भएको थियो । केही दिनअघि मात्रै उनको फोक्सोको अप्रेसन गरेर अस्पतालबाट डिस्चार्ज गरिएको छ । रेखदेखको लागि नेपालबाट रुपेशकी आमालाई अष्ट्रेलिया बोलाइएको छ । अहिले उनको रेखदेख आमाले गरिरहेकी छन् । उनको उप

चारमा लागेको खर्च मकवानपुर समाज अष्ट्रेलिया र तामाङ सोसाईटीन्यु साउथ वेल्स, एनआरएन अष्ट्रेलिया लगायतका अन्य संघ संस्थाले बेहोरेको एनआरएन न्यु साउथ वेल्सका संयोजक देव गुरुङले जानकारी दिए । अहिलेसम्म रुपेशको उपचारमा २५ सय अष्ट्रेलियन डलर खर्च भइसकेको गुरुङले बताए । 

दैनिकरूपमा औषधी सेवन गर्नुपर्ने, कोठा भाडा, दैनिक जसो स्वास्थ्य परिक्षण र खाना खर्च लगायतमा आर्थिक अभाव भएको संयोजक गुरुङले बताए । रुपेशको थप उपचारमा आर्थिक आवश्यक परेकाले एनआरएन न्यु साउथ वेल्सले गो फण्डमी संचालन गरेको छ । १५ हजार अष्ट्रेलियन डलर संकलनको लक्ष्य लिएको गो फण्डीमार्फत सहयोग गरेर रुपेशलाई नयाँ जिवन दिन संयोजक गुरुङले सम्पुर्ण अष्ट्रेलियावासी नेपालीहरुलाई आग्रह गरेका छन् । 

यो समाचार तयार पर्दा सम्म गो फण्डमीमा २ हजार ९८४ अष्ट्रेलियन डलर संकलन भइसकेको छ । यदी तपाई पनि रुपेशको नयाँ जिवनप्रप्तिको लडाई लड्न चाहनुहुन्छ भने यो लिंकमा क्लिक गरेर आर्थिक सहयोग गर्न सक्नुहुनेछ । 

मकवानपुर जिल्ला हेटौँडा स्थायी घर भएका रुपेश ५ वर्ष अगाडी उच्च शिक्षा अध्यानको लागि अष्ट्रेलिया आएका थिए ।