काठमाडौँ । भारतीय चर्चित अभिनेता एंव निर्देशक सतीश कौशिकको ६७ वर्षको उमेरमा निधन भएको छ । अभिनेता अनुपम खेरले ट्वीट गर्दै उनको निधनको जानकारी गराएका हुन् ।
अनुपमले लेखेका छन्, ‘मृत्यु संसारको शाश्वत सत्य हो तर मैले आफ्नो प्रिय साथीबारे यसरी लेख्नुपर्ला भनेर सपनामा पनि सोचेको थिइनँ ।’ तर, उनको मृत्युको कारण भने खुलाइएको छैन् ।
सतीशको जन्म १३ अप्रिल १९६५ मा हरियाणामा भएको थियो । दिल्लीमा माध्यामिक शिक्षा पुरा गरेका सतीशले किरोरी माल कलेजबाट स्नातक गरेपछि नेशनल स्कूल अफ ड्रामा (एनएसडी) मा भर्ना भएका थिए ।
सन् १९८५ मा उनले शशि कौशिकसँग विवाह गरे । सतीशले सन् १९८३ मा बलिउडमा डेब्यू गरेका थिए । यसअघि उनले थिएटरमा काम गरेका थिए । उनी एक अभिनेता, हास्य कलाकार, पटकथा लेखक, निर्देशक र निर्माता थिए।
सतीशलाई सन् १९८७ मा फिल्म मिस्टर इन्डियाबाट पहिचान मिलेको थियो । सतीशले १९९० मा राम लखन र १९९७ मा साजन चले ससुरालका लागि सर्वश्रेष्ठ हास्य कलाकारको लागि फिल्मफेयर पुरस्कार प्राप्त गरेका थिए। थिएटर अभिनेताको रूपमा उनको सबैभन्दा प्रसिद्ध भूमिका हिन्दी नाटक ‘सेल्सम्यान रामलाल’ मा थियो।
प्रतिक्रिया