माधव नेपालका भाई सरोजले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष

माधव नेपालका भाई सरोजले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष


कामठाडौँ ।

काठमाडौँको शंखमुलस्थित एक क्याफेबाट खसेर मृत्यु भएका सरोजकुमार उपाध्यायले आत्महत्या गरेको प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ । झन्डै पाँच फिट अग्लो रेलिङ रहेको क्याफेको टेबलमाथि चढेर उनी हाम फालेको देखिएकाले यो दुर्घटनाभन्दा पनि नियतवस आत्महत्या देखिने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

पार्टीका अध्यक्ष माधव कुमार नेपालका सहोदर भाइ उपाध्यायले क्याफेबाट हाम फाल्नुको कारणबारे केही खुलेको छैन । प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

उनी तीन दिनदेखि लगातार सोही क्याफेमा जाने गरेको रहस्य पनि खुलेको छ । उपाध्याय बिहान १० बजेतिर क्याफेमा पुगेर दिउँसो २ः३ बजेसम्म क्याफेमै बस्ने गरेका थिए । उनी प्रत्येक दिन क्याफेको छैटौँ तलामा गएर बस्ने गरेका थिए ।

प्रहरी स्रोताका अनुसार उनले त्यहाँ अरू कोही मान्छे लिएर जाने गरेका थिएनन् । दुई दिनअघि मात्र उनले सञ्चालकलाई ‘आफूलाई क्याफे मन परेको’ पनि बताएका थिए ।

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालका भाइ एवम् सोही पार्टीका केन्द्रीय सदस्यको आर्थि अवस्था पनि त्यति नाजुक नरहेपनि पारिवारिक समस्या हुनसक्ने आंकलन प्रहरीको छ । उनले शनिबार क्याफेमा पुगेर मःम अर्डर गरेका थिए । काठमाडौँ प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीका अनुसार खाँदै गरेको प्लेटमा २ वटा मःम बाँकी थिए ।

क्याफेको छतबाट खसेपछि घाइते भएका उपाध्यायलाई स्थानीयले नयाँ बानेश्वरस्थित सिभिल अस्पताल पुर्‍याएका थिए । त्यहाँ उपचार सम्भव नभएपछि माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पताल लगिएको थियो । त्यहाँ उपचारको क्रममा निधन भएको हो ।

पेशाले इञ्जिनियरसमेत रहेका उपाध्याय पछिल्लो समय एकीकृत समाजवादीको राजनीतिमा सक्रिय थिए ।